भोटेकोशी बाढीमा ५४४ वटा मालबाहक तथा सार्वजनिक सवारी क्षतिग्रस्त भएको साथै करिब ५०१ जना मजदुर सम्पर्कविहीन भएको प्रारम्भिक तथ्यांक निकालिएको छ ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईका अनुसार अहिलेसम्म १ जनाको मृत्यु पुष्टि भएको छ । १७ जना श्रमिक सम्पर्कमा आएका छन् । करिब ५६३ जना श्रमिक प्रभावित भएको राईले बताए ।
हेर्नुहोस् तथ्यांक

‘हाम्रा सदस्यको विवरणको आधारमा पारिवारिक रुटसम्म पुगेर संकलन गरेको डाटा हो यो । खोज-उद्धारका लाागि पनि हाम्रो टीम परिचालित छ । तर, प्रगति अहिलेसम्म देखिएको छैन’, उनले भने ।
यो संख्या अझै बढ्न सक्ने अवस्था रहेको उल्लेख गर्दै उनले सम्पर्कविहीन श्रमिकको खोजी, प्रभावित परिवारलाई तत्काल राहत, क्षति तथा प्रभावित श्रमिकको यथार्थ अभिलेख संकलन, दीर्घकालीन पुन:स्थापनालगायतको विषयमा जोड दिएका छन् ।
युनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले पर्यटन क्षेत्रमा काम गरिरहेका आफ्ना ९३ जना सदस्य सम्पर्कविहीन रहेको जानकारी गराए, अन्य बेपत्ता रहेको पराजुलीले बताए ।
त्यस्तै नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारीले नेपाली यातायात मजदुरहरुको अवस्था भयावह रहेको उल्लेख गर्दै श्रमिकहरूको उद्धारमा सबै मिलेर जुट्नु पर्ने बताए ।
यसैबीच अन्तर्राष्ट्रिय यातायात मजदुर महासंघ (आईटीएफ) ले रसुवा बाढीबाट प्रभावित यातायात श्रमिकको खोजी, उद्धार, राहत तथा पुन:स्थापनाका लागि नेपालका यातायात मजदुर संगठन र सरकारसँग समन्वय गरी काम गर्ने जनाएको छ ।

आइटीएफमा आबद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, युनिट्राभ र नेपाल यातायात मजदुर संघसँग भएको भर्चुअल बैठकमा आइटीएफ वर्ल्ड कमिटीका उपाध्यक्ष स्कट म्याक्डनिले बाढी प्रभावित श्रमिकको अवस्था पहिचान, खोजी, उद्धार तथा राहतका लागि आवश्यक सहयोग र समन्वय गरिने बताएका हुन् । उनले आइटीएफ दक्षिण एसियाका सहायक सचिव अब्दुलगानी सेराङलाई तत्काल आवश्यक योजना तयार गर्न पनि आग्रह गरेका छन्।