भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मादुरोले आफू अमेरिकाको हिरासत केन्द्रमा रहेको देखिने दुईवटा तस्बिर सार्वजनिक गरेका छन्।
गत जनवरीमा अपहरण गरेर अमेरिका लगिएपछि हिरासतमा रहेका मादुरोले पहिलोपटक आफ्नो तस्बिर सार्वजनिक गरेका हुन्।
अमेरिकी विशेष बलले भेनेजुएलाको राजधानी काराकासबाट मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिएर अमेरिका लगेको थियो।
उनीहरूलाई न्यूयोर्कको ब्रुकलिनस्थित एक हिरासत केन्द्रमा राखिएको छ। उनीहरूमाथि लागुऔषध तस्करी र हतियार राखेको आरोपमा मुद्दा चलिरहेको छ। दुवैले ती आरोप अस्वीकार गर्दै आएका छन्।
मादुरोले सामाजिक सञ्जाल एक्स र टेलिग्राममा तस्बिर सार्वजनिक गर्दै स्पेनी भाषामा लेखेका छन्, ‘म यी तस्बिरहरू मेरा सबै नातिनातिनी, केटाकेटी तथा हामीलाई माया गर्ने सबै असल मानिसका लागि सानो उपहारका रूपमा पठाउँदैछु।’
उनले आफूहरू आफ्ना समर्थकको मायाले भरिएको मन लिएर दृढतापूर्वक उभिएको बताएका छन्।
‘हामी बलियो, शान्त र विश्वस्त रहनेछौँ। भगवान् हामीसँग हुनुहुन्छ। भगवान्ले व्यवस्था गर्नुहुनेछ। भेनेजुएला फेरि उठ्नेछ,’ मादुरोले लेखेका छन्।
सार्वजनिक गरिएका दुई तस्बिरमा मादुरोले खैरो ट्र्याकसुट लगाएका छन् र दुवै हातले ‘पिस’ संकेत गरिरहेका छन्।
उनलाई पक्राउ गरिएयता सार्वजनिक भएको यो पहिलो तस्बिर हो। तस्बिरमा उनी पक्राउ पर्नुअघिको तुलनामा निकै दुब्लाएको देखिन्छ।
तस्बिर आइतबार सार्वजनिक गरिए पनि त्यसमा उल्लेखित मितिअनुसार ती तस्बिर जुन २५ मा खिचिएका थिए। जुन २५ मा भेनेजुएलाको उत्तरी क्षेत्रमा ७.५ र ७.२ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प आएका थिए, जसमा ६ हजार ५०० भन्दा बढी मानिसको मृत्यु भएको थियो र ठूलो भौतिक क्षति भएको थियो।
समाचार संस्था एएफपीले तस्बिर वास्तविक हुन् कि होइनन् र ती सार्वजनिक गर्न हिरासत केन्द्रबाट अनुमति दिइएको थियो कि थिएन भन्नेबारे केन्द्रसँग सम्पर्क गर्ने प्रयास गरेको थियो। तर तत्काल कुनै प्रतिक्रिया प्राप्त नभएको जनाएको छ।
मादुरोले तस्बिर सार्वजनिक गरेको दुई दिनअघि उनका उत्तराधिकारी तथा अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले अमेरिकालाई भेनेजुएलाका तेल क्षेत्रमा सञ्चालन गर्न अनुमति दिने ‘ऐतिहासिक’ तेल सम्झौता भएको घोषणा गरेकी थिइन्। उनले सम्झौताले भेनेजुएलाको सार्वभौमसत्ता कायम रहने बताएकी छन्।
पूर्वराष्ट्रपति मादुरोलाई हिरासतमा पत्रपत्रिका पढ्न वा इन्टरनेट चलाउन अनुमति छैन। तर परिवारका सदस्य र वकिलसँग टेलिफोनमार्फत कुरा गर्न भने अनुमति दिइएको छ।
पूर्वनेतासँग नजिक रहेको एक स्रोतका अनुसार उनले महिनामा करिब ३०० मिनेटसम्म फोनमा कुराकानी गर्न पाउँछन् र एकपटकमा बढीमा १५ मिनेटसम्म कुरा गर्न सकिन्छ।
मादुरो र उनकी पत्नी फ्लोरेसविरुद्ध अमेरिकामा चलिरहेको मुद्दाको सुनुवाइ २०२७ जुन १ देखि सुरु हुने भएको छ। न्यूयोर्कस्थित संघीय अदालतले गत जुलाईको अन्त्यमा सुनुवाइको मिति तोकेको थियो।