भोटेकोशी नदीमा आएको भीषण बाढीको कारण पत्ता लगाउन नेपालले चीनसँग समन्वय गरिरहेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीको मुख्य कारण अहिलेसम्म यकिन हुन सकेको छैन।
चीनतर्फको भू–भागसँग समेत सम्बन्धित हुनसक्ने भएकाले बाढीको कारण पत्ता लगाउन चिनियाँ पक्षसँग समन्वय भइरहेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणकी उपसचिव गोमादेवी चेम्जोङले बाढी आउनुको कारण पत्ता लगाउन स्याटेलाइट तस्वीरमार्फत अध्ययन गर्ने तयारी भइरहेको बताइन्।
उनका अनुसार घटनाको वास्तविक कारण पहिचान गर्न चीनसँगै अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) लगायतका निकायसँग पनि सहकार्य भइरहेको छ।
‘यो नेपालको नदीसँग मात्र सम्बन्धित विषय होइन, चीनसँग जोडिएको विषय भएकाले चीनसँगै समन्वय गरेर कारणको खोजी गरिरहेका छौँ,’ चेम्जोङले भनिन्, ‘स्याटेलाइटबाट अध्ययन नगरी अहिले नै बाढीको ठोस कारण यही हो भनेर भन्न सकिने अवस्था छैन।’
मौसमविद्हरूले पनि रसुवा क्षेत्रमा मंगलबार साँझदेखि ठूलो वर्षा नभएको बताएका छन्। सामान्य वर्षाका कारण मात्रै यति ठूलो बाढी आएको हो वा अन्य कुनै कारणले नदीको बहाव एक्कासि बढेको हो भन्नेबारे थप अध्ययन भइरहेको छ।
भोटेकोशीको जलाधार क्षेत्र चीनको तिब्बतसँग जोडिएकाले त्यहाँ हिमपहिरो, हिमताल वा अन्य कुनै संरचना फुटेको हुनसक्ने मौसमविद् मिन कुमार अर्यालले जानकारी दिए ।