चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालबिच बेइजिङमा सीमा वार्ता सुरु भएको छ। वाङ र डोभाल चीन र भारतका सीमासम्बन्धी संयन्त्रका विशेष प्रतिनिधि हुन्।
२००३ मा स्थापना भएको सो संयन्त्रको यो २५ औँ बैठक हो। चीन र भारतबिच ३ हजार ४८८ किलोमिटर लामो सीमामा अनेक स्थानमा समस्या छन्।
वाङसँग भेट्नुअघि डोभालले उपराष्ट्रपति हान चेङसँग भेटवार्ता गरेका थिए। उपराष्ट्रपति हानले गएको दुई वर्षमा चीन र भारतबिचको सम्बन्धमा सुधार आएको बताउँदै त्यसलाई जारी राख्नुपर्ने बताएका थिए।
लद्दाखको झडपपछि बिग्रेको दुई देशको सम्बन्ध अक्टोबर २०२४ मा सी र नरेन्द्र मोदीबिच रुसको कजानमा भएको भेटपछि सुधार हुन थालेको थियो।
सेप्टेम्बर १२ मा भारतमा हुने ब्रिक्स शिखर बैठकमा चिनियाँ राष्ट्रपति सी चिनफिङ सहभागी हुँदैछन्। सीको भ्रमणअघि डोभाल बेइजिङ पुगेका हुन्। एजेन्सी