रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा यार्डमा रहेका सयौँ कन्टेनर बगेको नेपाल हिमालय सीमापार वाणिज्य संघले जनाएको छ।
संघका सचिव आङदोर्जे शेर्पाले दिएको प्रारम्भिक जानकारी अनुसार यार्डमा रहेका दुई सय कन्टेनर बाढीले बगाएको हो।
त्यसैगरी चीनतर्फ सामान लिन जाँदै गरेका ३ सयजति लस्करै कन्टेनर पनि बाढीमा परेका छन्। उनले भने, ‘सयमा १० प्रतिशतजति मात्रै बाँकी होला। टिमुरेमै रहेका मेरा भाइहरुले गाउँ नै बगाएको जानकारी दिनुभएको छ। कन्टेनरहरु लाइन नै थिए रे। चीनतर्फ जाने बाटोको नक्सा नै छैन।’
उनले अहिले एउटा हेलिकप्टर आइपुगेर ७/८ जना घाइतेलाई उद्धार गरी काठमाडौं पठाइएको जानकारी आफूले पाएको बताए। अहिले भन्सार कार्यालय रहेको टिमुरे क्षेत्रमा बाढी केही साम्य भएको छ भने टेलिफोनहरु सुचारु हुनथालेका छन्।
संघका अध्यक्ष रामहरि कार्कीले पनि सयौँ कन्टेनर र ठूलो संख्यामा मानिसहरु बाढीमा परेको बताए। एक्कासि बाढी आउँदा ठूलो जनधन क्षति भएको उनको भनाइ छ।