बाबुराम भट्टराईविरुद्ध हिन्दुविरोधी भएको भ्रम फैलाइएको सचिवालयको आरोप

 संवाददाता    २०८३, ८ भाद्र सोमबार १२:०४     20 जनाले पढ़िसके



Spread the love

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई हिन्दुविरोधीका रूपमा चित्रण गर्न भ्रामक प्रचार भइरहेको भन्दै त्यसबाट सतर्क रहन उनको सचिवालयले आम नागरिकमा अपिल गरेको छ।

पूर्वप्रधानमन्त्री डा भट्टराईको सचिवालयले आज (सोमबार) ‘गम्भीर ध्यानाकर्षण पत्र’ प्रकाशन गरी भट्टराईलाई धम्कीसमेत आइरहेकाले यसमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनबमोजिम कडा कारबाही गर्न सरकारसँग माग पनि गरेको छ।

‘पछिल्लो समय केही स्वार्थप्रेरित व्यक्ति तथा समूहले आफ्नो राजनीतिक स्वार्थ पूरा गर्ने उद्देश्यले बहुसंख्यक हिन्दु धर्मावलम्बीहरूको धार्मिक आस्थालाई प्रयोग गरी पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई हिन्दुविरोधीका रूपमा चित्रित गर्ने प्रयास गरिरहेका छन्। यसका लागि पुराना भिडिओ तथा अभिव्यक्तिहरूलाई तोडमरोड गर्ने, भ्रामक तस्बिर तथा पोस्टर बनाएर सामाजिक सञ्जालमा प्रचार गर्ने र धार्मिक घृणा तथा सामाजिक विभाजन फैलाउने गतिविधि भइरहेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘अतः धार्मिक तथा सामाजिक सद्‌भाव खलल पुऱ्याउने उद्देश्यले फैलाइएका भ्रामक, तोडमरोड गरिएका, धम्कीपूर्ण तथा घृणा उत्पन्न गर्ने सामग्रीबाट सतर्क रहन आम नागरिकमा हार्दिक अपिल गर्दछौँ। साथै यस्ता गतिविधिमा संलग्न व्यक्ति तथा समूहहरू र उनीहरूले प्रयोग गरिरहेका सामाजिक सञ्जालका खाताहरूमाथि नेपाल सरकारले गम्भीर निगरानी राखी आवश्यक अनुसन्धान गर्न तथा प्रचलित कानुनबमोजिम कडा कारबाही अघि बढाउन हार्दिक अनुरोध गर्दछौँ।’

धर्मनिरपेक्षवादी कुनै धर्मको विरोध गर्नु नभएको उल्लेख गर्दै जातीय विभेद तथा सामाजिक असमानताका विषयमा भइरहेको बहसलाई समेत केही हिन्दुवादी समूहले पूर्वाग्रहपूर्ण ढंगले प्रचारको विषय बनाइरहेकोप्रति पूर्वप्रधानमन्त्री भट्टराईको सचिवालयले दु:ख व्यक्त गरेको छ।

‘धर्मनिरपेक्षवादी हुनु कुनै धर्मको विरोध गर्नु होइन। धर्मनिरपेक्षताको मूल मर्म राज्यले सबै धर्म र आस्थाप्रति समान व्यवहार गर्नु तथा प्रत्येक नागरिकलाई आफ्नो धर्म मान्ने, आस्था राख्ने वा नराख्ने स्वतन्त्रता सुनिश्चित गर्नु हो। त्यसैगरी विज्ञानमा विश्वास गर्नु, वैज्ञानिक दृष्टिकोण अवलम्बन गर्नु वा नास्तिक हुनु प्रत्येक व्यक्तिको वैचारिक स्वतन्त्रताको विषय हो। यसलाई कुनै धर्म वा धार्मिक समुदायविरुद्धको गतिविधिका रूपमा प्रस्तुत गर्नु सर्वथा अनुचित छ’, विज्ञप्तिमा भनिएको छ, ‘हिन्दु धर्मभित्र रहेको जातव्यवस्था, जातीय विभेद तथा सामाजिक असमानताका विषयमा पछिल्लो समय भइरहेको बहसलाई समेत केही हिन्दुवादी समूहले पूर्वाग्रहपूर्ण ढंगले प्रचारको विषय बनाउनु दुःखद् छ। कुनै पनि धर्म, संस्कृति वा परम्पराभित्र रहेका सामाजिक अभ्यासमाथि प्रश्न उठाउनु, आलोचनात्मक बहस गर्नु र सुधारको पक्षमा आवाज उठाउनु लोकतान्त्रिक समाजको स्वाभाविक प्रक्रिया हो। सामाजिक न्याय र समानताका पक्षमा हुने बहसलाई कुनै धर्म वा धार्मिक समुदायविरुद्धको घृणाका रूपमा व्याख्या गर्नु तथ्यलाई तोडमरोड गर्नु हो।’

यस्तो छ पूरा विज्ञप्ति

गम्भीर ध्यानाकर्षण पत्र
मिति: २०८३-०५-०८
पछिल्लो समय केही स्वार्थप्रेरित व्यक्ति तथा समूहले आफ्नो राजनीतिक स्वार्थ पूरा गर्ने उद्देश्यले बहुसंख्यक हिन्दु धर्मावलम्बीहरूको धार्मिक आस्थालाई प्रयोग गरी पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई हिन्दुविरोधीका रूपमा चित्रित गर्ने प्रयास गरिरहेका छन्। यसका लागि पुराना भिडिओ तथा अभिव्यक्तिहरूलाई तोडमरोड गर्ने, भ्रामक तस्बिर तथा पोस्टर बनाएर सामाजिक सञ्जालमा प्रचार गर्ने र धार्मिक घृणा तथा सामाजिक विभाजन फैलाउने गतिविधि भइरहेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।

धर्मनिरपेक्षवादी हुनु कुनै धर्मको विरोध गर्नु होइन। धर्मनिरपेक्षताको मूल मर्म राज्यले सबै धर्म र आस्थाप्रति समान व्यवहार गर्नु तथा प्रत्येक नागरिकलाई आफ्नो धर्म मान्ने, आस्था राख्ने वा नराख्ने स्वतन्त्रता सुनिश्चित गर्नु हो। त्यसैगरी विज्ञानमा विश्वास गर्नु, वैज्ञानिक दृष्टिकोण अवलम्बन गर्नु वा नास्तिक हुनु प्रत्येक व्यक्तिको वैचारिक स्वतन्त्रताको विषय हो। यसलाई कुनै धर्म वा धार्मिक समुदायविरुद्धको गतिविधिका रूपमा प्रस्तुत गर्नु सर्वथा अनुचित छ।

हिन्दु धर्मभित्र रहेको जातव्यवस्था, जातीय विभेद तथा सामाजिक असमानताका विषयमा पछिल्लो समय भइरहेको बहसलाई समेत केही हिन्दुवादी समूहले पूर्वाग्रहपूर्ण ढंगले प्रचारको विषय बनाउनु दुःखद् छ। कुनै पनि धर्म, संस्कृति वा परम्पराभित्र रहेका सामाजिक अभ्यासमाथि प्रश्न उठाउनु, आलोचनात्मक बहस गर्नु र सुधारको पक्षमा आवाज उठाउनु लोकतान्त्रिक समाजको स्वाभाविक प्रक्रिया हो। सामाजिक न्याय र समानताका पक्षमा हुने बहसलाई कुनै धर्म वा धार्मिक समुदायविरुद्धको घृणाका रूपमा व्याख्या गर्नु तथ्यलाई तोडमरोड गर्नु हो।

डा. बाबुराम भट्टराईका विचार तथा अभिव्यक्तिलाई समग्र सन्दर्भबाट अलग गरी पुराना सामग्रीको तोडमरोड तथा भ्रामक व्याख्यामार्फत प्रस्तुत गर्नु गैरजिम्मेवार राजनीतिक तथा सामाजिक व्यवहार हो। अझ पछिल्लो समय केही व्यक्तिहरूले धम्कीपूर्ण तथा भय सिर्जना गर्ने सामग्रीहरू पोस्ट गर्ने र केही बुर्जुवा व्यक्तिहरू नै योजनाबद्ध रूपमा कन्टेक्स्ट सेटिङ तथा भ्रामक भाष्य निर्माणमा सक्रिय भइरहेकोप्रति हामी घोर आपत्ति प्रकट गर्दछौँ। यस्ता गतिविधिले व्यक्तिको सुरक्षा तथा प्रतिष्ठामा मात्र नभई धार्मिक सहिष्णुता, सामाजिक सद्‌भाव र राष्ट्रिय एकतामै गम्भीर असर पार्न सक्ने भएकाले यसलाई सामान्य प्रचारबाजीका रूपमा लिनु हुँदैन।

अतः धार्मिक तथा सामाजिक सद्‌भाव खलल पुऱ्याउने उद्देश्यले फैलाइएका भ्रामक, तोडमरोड गरिएका, धम्कीपूर्ण तथा घृणा उत्पन्न गर्ने सामग्रीबाट सतर्क रहन आम नागरिकमा हार्दिक अपिल गर्दछौँ। साथै यस्ता गतिविधिमा संलग्न व्यक्ति तथा समूहहरू र उनीहरूले प्रयोग गरिरहेका सामाजिक सञ्जालका खाताहरूमाथि नेपाल सरकारले गम्भीर निगरानी राखी आवश्यक अनुसन्धान गर्न तथा प्रचलित कानुनबमोजिम कडा कारबाही अघि बढाउन हार्दिक अनुरोध गर्दछौँ। अभिव्यक्ति तथा वैचारिक स्वतन्त्रताको सम्मान गर्दै कसैको धार्मिक आस्था, व्यक्तिगत सुरक्षा, प्रतिष्ठा तथा सामाजिक सद्‌भावमाथि आघात पुऱ्याउने गतिविधिमा भने राज्यले प्रभावकारी कानुनी हस्तक्षेप गर्न आवश्यक छ। धार्मिक स्वतन्त्रता, वैचारिक स्वतन्त्रता, वैज्ञानिक चेतना, सामाजिक न्याय र सहिष्णुताको रक्षा गर्दै घृणा, हिंसा र विभाजन फैलाउने प्रयासलाई निरुत्साहित गर्नु आजको आवश्यकता हो।