प्रधानमन्त्री शाह फर्किने सडकमा पहिरोको जोखिम, सतर्कता आवश्यक

 संवाददाता    २०८३, ८ भाद्र सोमबार ११:१४     26 जनाले पढ़िसके



Spread the love

गएको शुक्रबार निजी भ्रमणको सिलसिलामा सडकमार्ग हुँदै पोखरा गएका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आज काठमाडौँ फर्किँदैछन्।

शुक्रबार काठमाडौँबाट पोखरा गएका प्रधानमन्त्री शाह शनिबार गाडीमै मुस्ताङ पुगेका थिए।

आइतबार मुस्ताङबाट फर्किएर उनी पोखरामै बास बसेका छन्।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार आज (सोमबार) प्रधानमन्त्री शाह काठमाडौँ फर्कने कार्यक्रम छ।

प्रधानमन्त्री शाह गाडीमै पोखरा र मुस्ताङ गएकाले उनी काठमाडौँ पनि गाडीमै फर्किने अनुमान छ।

तर, पृथ्वी राजमार्गको तनहुँ खण्डमा पहिरोको उच्च जोखिम रहेकाले स्थानीय प्रशासन चनाखो देखिएको छ।

गएराति करिब १० बजेतिर तनहुँको व्यास नगरपालिका- १२ छिरकनेमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो।

 

 

राति नै पहिरो र ढुंगाहरू हटाइएको भए पनि यो सडक खण्डमा पहिरोको जोखिम कायमै रहेको जिल्ला प्रहरी कार्यालय नहुँका प्रहरी नायव उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए।

‘छिरकनेमा खसेको पहिरो हटाएर गएराति नै हामीले सडक खुलाएका छौँ,’ डीएसपी घिमिरेले नेपालखबरसँग भने, ‘तर, सडकमा पहिरोको डर कायमै छ। सडकको केही माथि ढिस्कोको पहाडै आएर बसेको छ। त्यो कतिबेला खस्छ भन्न सकिँदैन। खतरा कायम नै छ।’

यो सडक भएर अहिले पनि आलोपालो गाडी चलिरहेका उनले बताए।

‘पहिरो खसेको ठाउँमा ड्युटी बसेर प्रहरीले आलोपालो गरेर गाडीहरू पठाइरहेको छ। अपेक्षा गरौँ त्यो ढिस्को नखस्ला। पानी पर्‍यो भने पहिरो खस्ने खतरा झन् बढ्छ,’ उनले भने।