प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले विलम्ब नगरी लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग आग्रह गरेका छन्।
सभापति थापाले सोमबार बिहान सामाजिक सञ्जालमार्फत २०७३ सालमा गठन भएको उच्चस्तरीय जाँचबुझ आयोग (लाल आयोग) ले बुझाएको प्रतिवेदन आजसम्म सार्वजनिक नहुँदा घटनाको सत्यतथ्य पूर्ण रूपमा बाहिर आउन नसकेको र पीडितहरू न्याय पाउनबाट वञ्चित भएको उल्लेख गरेका छन्।
उनले लेखेका छन्, ‘यसर्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई मेरो आग्रह छ- अब थप विलम्ब नगरी लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिदिनुहोस्। सत्य जान्ने अधिकार नागरिकको हो, न्याय पाउने अधिकार पीडितको हो।’
२०७३ असोजमा मधेस तथा थरुहट आन्दोलनका क्रममा भएका हिंसा, हत्या, आगजनी र मानवअधिकार उल्लंघनका घटना छानबिन गर्न उक्त आयोग गठन गरिएको थियो ।
यस्तो छ गगनको पूरा स्टाटस
लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने विषय हिजो फेरि उठेको छ।
२०७४ सालदेखि लगभग हरेक वर्ष यसरी नै लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने आवाज उठ्दै आएको छ। हरेक पटक हामी राजनीतिक दलहरूले सरकारमा जानुअघि प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनायौं, तर सरकारमा पुगेपछि त्यसलाई कार्यान्वयन गर्न सकेनौं।
अब त एक दशक बित्न लागिसक्यो।
२०७३ सालमा गठन भएको उच्चस्तरीय जाँचबुझ आयोग (लाल आयोग) ले बुझाएको प्रतिवेदन आजसम्म सार्वजनिक नहुँदा घटनाको सत्यतथ्य पूर्ण रूपमा बाहिर आउन सकेको छैन र पीडितहरू न्याय पाउनबाट वञ्चित छन्।
विगतका सरकारबाट पनि यो काम हुन सकेन। तर विगतको कमजोरी आज पनि प्रतिवेदन सार्वजनिक नगर्ने कारण बन्न सक्दैन, बन्नु हुँदैन। यसपटक यो विषय प्रतिवद्धतामा मात्र सिमित नहोस्।
यसर्थ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई मेरो आग्रह छ.
अब थप विलम्ब नगरी लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिदिनुहोस्।
सत्य जान्ने अधिकार नागरिकको हो, न्याय पाउने अधिकार पीडितको हो।