रुकुम पश्चिममा गाडीको ठक्करबाट आमाछोरीको मृत्यु भएको छ।
आइतबार बिहान सानीभेरी गाउँपालिका-८ एकान्तस्थित मध्यपहाडी सडकखण्डमा भे.१ ज १४८२ नम्बरको माइक्रोबसले ठक्कर दिँदा आमाछोरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा गुल्मीको रुरुक्षेत्र गाउँपालिका-४ बलेटक्चाकाकी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी २ वर्षीया छोरी शान्दिका छिन्।
क.प्र.०२००१ ख १०७० नम्बरको गाडीमा सवार आमा-छोरी पिसाव फेर्न गाडीबाट ओर्लिएको बेला अर्को गाडीले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी झविन्द्र परियारले जानकारी दिए।
आमाछोरी रुकुम पश्चिमको सदरमुकाम मुसिकोटबाट गुल्मी जाँदै गर्दा आज बिहान नौ बजेतिर घटना भएको हो।
छोरी शान्दिकाले शौच गर्ने बताएपछि आमा स्वस्तिकाले गाडी रोकाएर ओर्लिएको बेला तीव्र गतिमा आएको अर्को गाडीले उनीहरुलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरी चौकी सिम्लीबाट प्रहरी नायव निरीक्षक धर्मबहादुर खड्काको कमाण्डमा ४ जनाको टोली घटनास्थल पुगेको थियो।
गम्भीर घाइते आमाछोरीलाई उपचारको लागि सल्ले अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।
ठक्कर दिने गाडीका चालक सानीभेरी गाउँपालिका– ३ चौखेका २२ वर्षीय अम्मर विकलाई प्रहरीले पक्राउ गरेको छ।