गएको शुक्रबार काठमाडौँको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा हत्या गरिएका २२ वर्षीय युवक वसन्त कालाथोकीकी आमा दाङमा मृत भेटिएकी छन्।
छोराको मृत्युको खबरपछि विछिप्त बनेकी ३८ वर्षीया बिना कालाथोकी घरमै मृत भेटिएकी जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी डा.हेम केसीले जानकारी दिए।
‘छोराको हत्या भएको खबर गर्नेले वुद्धि नपुर्याउँदा आमाले आत्महत्या गरेको अनुमान हामीले गरेका छौँ,’ केसीले भने, ‘पति वैदेशिक रोजगारीमा मलेसियामा रहेछन्। उता काठमाडौँमा छोराको हत्याको खबर पाउने बित्तिकै आमाले सिलिङ फ्यानमा पासो लगाएर झुन्डिएको अवस्थामा शव फेला परेको हो।’
उनको शव पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको केसीले बताए।
वसन्तको हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। अर्का फरार छन्।
जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार शंखमूलस्थित भ्याली ब्वाइज होस्टलमा तीन युवकबीच कुटपिट हुँदा वसन्तको हत्या भएको हो।
उनलाई बाराको कलैया उपमहानगरपालिका–३ का १८ वर्षीय शेखर यादव र २० वर्षीय प्रमित पटेलले हत्या गरेको आरोप छ।
गम्भीर घाइते वसन्तलाई उपचारका लागि मिनभवनस्थित निवामती कर्मचारी अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो।
कुटपिटमा संलग्न शेखरलाई प्रहरीले पक्राउ गरेको छ। घटनापछि यादव भने फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।