डीडीसीको घिउ अब दुबईमा, पहिलो लटमा ६ सय किलो निर्यात

 संवाददाता    २०८३, ५ भाद्र शुक्रबार १३:५२     0 View



Spread the love

दुग्ध विकास संस्थान (डीडीसी) को घिउ दुबई पुग्ने भएको छ ।

डीडीसी र रातो र चन्द्र-सूर्य इन्टरनेसनल कम्पनीको सम्झौताअनुरुप पहिलो लटमा ६ सय किलो घिउ दुबई निर्यात हुन लागेको हो ।

वर्षमा न्यूनतम ५० हजार किलो घिउ निर्यात गर्नेगरी संस्थान र उक्त कम्पनीबीच सम्झौता भएको थियो । कम्पनीका प्रबन्ध निर्देशक प्रकाशचन्द्र घिमिरेले अहिलेलाई ६ सय किलो मात्रै लैजान लागिएको बताए ।

‘हाम्रो सहायक कम्पनी मातृभूमि जनरल ट्रेडिङ एलएलसीको आफ्नै डिपार्टमेन्ट स्टोर खुल्दै छ । त्यसमै राख्ने हो,’ उनले भने, ‘त्यहाँबाट आउने रेस्पोन्सका आधारमा अर्को अर्डर गर्ने र लैजाने हो ।’

खाद्य तथा गुण नियन्त्रण विभागले खान योग्य छ भनेर दिइने ‘हेल्थ सर्टिफिकेट’का आधारमा दुबईमा फेरि परीक्षण हुने घिमिरेले बताए । ‘डीडीसीको ल्याब रिपोर्टअनुसार हामीले विभागबाट हेल्थ सर्टिफिकेट लिइसकेका छौं, त्यो अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुन्छ,’ उनले भने, ‘दुबईमा फेरि त्यसकै आधारमा जाँच हुन्छ ।’

कुनै जार/बोटलमा प्याकेजिङ गरिएको यस्तो घिउको म्याद एक वर्षको हुने उनको भनाइ छ । ‘अहिलेलाई घिउ मात्रै लैजाने भए पनि भविष्यमा याक चिज पनि लैजाने गरी काम भइरहेको छ,’ उनले भने ।

दुबईमा मात्र नभई पश्चिम एसिया नै लक्षित गरी घिउ निर्यात गर्ने तयारी रहेको कम्पनीले जनाएको छ ।

गत आर्थिक वर्ष ४ करोड ३३ लाख ४४ हजार रुपैयाँको ३९ हजार ८५९ किलो घिउ निर्यात भएको थियो । सबैभन्दा बढी जापानमा ४ करोड ३२ लाख ७५ हजार रूपैयाँको, भारतमा ५१ हजार, नेदरल्यान्ड्समा १६ हजार र बेलायतमा १ हजार रुपैयाँको घिउ निर्यात भएको भन्सार विभागको तथ्यांक छ ।

‘दुबईमा भने हामीले पहिलोपटक घिउ पठाउँदै छौं,’ कम्पनीका प्रबन्ध निर्देशक घिमिरेले भने ।