जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पूर्वक्रिकेट कप्तान इमरान खानलाई सर्वोच्च अदालतको आदेशअनुसार उपचारका लागि इस्लामाबादस्थित निजी अस्पतालमा लगिएको छ ।
मङ्गलवार न्यायाधीश शाहिद वहीदको नेतृत्वमा रहेको तीन सदस्यीय इजलासले खानलाई स्वास्थ्य परीक्षण तथा उपचारका लागि बहुविध विशेषज्ञ चिकित्सक सम्मिलित मेडिकल बोर्डको निगरानीमा शिफा इन्टरनेसनल अस्पतालमा सार्न सरकारलाई आदेश दिएको थियो ।
खानको स्वास्थ्य अवस्था बिग्रँदै गएको भन्दै उनको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) ले अस्पताल भर्ना गर्न माग गर्दै निवेदन दिएपछि अदालतले सो आदेश जारी गरेको थियो ।
कडा सुरक्षा व्यवस्थाबीच शुक्रवार बिहानै खानलाई अस्पताल लगिएको हो । यद्यपि, ७३ वर्षीय खान कति समय अस्पतालमा रहनेछन् भन्ने स्पष्ट भइसकेको छैन ।
पीटीआईले एक विज्ञप्तिमार्फत भनेको छ, ‘सर्वोच्च अदालतको आदेशपछि पूर्वप्रधानमन्त्री इमरान खानलाई अदियाला जेलबाट इस्लामाबादस्थित शिफा इन्टरनेसनल अस्पतालमा सारिएको छ ।’
सरकारले सर्वोच्च अदालतको इजलासको उक्त आदेश पुनरावलोकन गर्न माग गरेको थियो । तर, कागजातहरू अपूर्ण रहेको भन्दै सर्वोच्च अदालतका रजिस्ट्रारको कार्यालयले सरकारको निवेदन फिर्ता गरिदिएको छ । सरकारले खानलाई आफूले रोजेको निजी अस्पतालमा उपचार गराउन अनुमति दिनु विभेदपूर्ण हुने तर्क गरेको छ ।
डन ले जनाएअनुसार सरकारले रजिस्ट्रारले उठाएका आपत्तिविरुद्ध अपिल गर्दै ‘केही संशोधनसहित’ नयाँ निवेदन दायर गर्न सक्ने सम्भावना छ ।
खानको पार्टी र उनका कानुनी प्रतिनिधिहरूले यस वर्ष फेब्रुअरीदेखि नै उनको स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गर्दै आएका छन् ।
एक समय पीटीआईले खानको दायाँ आँखाको दृष्टि १५ प्रतिशतमा सीमित भएको दाबी गरेको थियो । त्यसपछि उनलाई इस्लामाबादस्थित सरकारी पिम्स अस्पतालमा पटक-पटक छोटो समयका लागि लगिएको थियो ।
यसै वर्षको सुरुवातमा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफलाई १४ जना पूर्वअन्तर्राष्ट्रिय क्रिकेट कप्तानले खुला पत्र लेख्दै खानको स्वास्थ्य अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका थिए ।
उनीहरूले खानलाई ‘इज्जतिलो व्यवहार र आधारभूत मानवीय संवेदनशीलता’ सहित उपचारको व्यवस्था गर्न आग्रह गरेका थिए । उक्त पत्रमा ग्रेग च्यापेल, सुनील गावस्कर र कपिल देवसहितका पूर्वकप्तानहरू सहभागी थिए ।
इमरान खान सन् २०२३ को अगस्टदेखि रावलपिन्डीस्थित अदियाला जेलमा कैद छन् । उनीमाथि भ्रष्टाचारलगायत विभिन्न आरोपमा सजाय सुनाइएको छ । तर, खान र उनको पार्टीले ती आरोपहरू अस्वीकार गर्दै आएका छन् ।