मनसुनको न्यूनचापीय रेखा (वर्षा गराउने प्रणाली) नेपालको पूर्वतर्फ थोरै नजिकिएको र पश्चिमतर्फ तुलनात्मक रूपमा थोरै टाढिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्।
आइतबार साँझसम्म ‘हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपालको नजिक रहेको छ’ लेखेको मौसम महाशाखाले आज सोमबार बिहान ‘हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तर रहेको छ’ भनेको छ।
यसमा भिन्नता के छ भनेर नेपालखबरले राखेको जिज्ञासामा मौसम महाशहाखाका मौसमविद् डेभिड ढकालले हाल मनसुनको न्यूनचापीय रेखा यसअघि पश्चिमतर्फ मात्र नजिक देखिएकामा अहिले समग्र नेपाल अर्थात् पूर्वतर्फ पनि नजिक आएको बताए।
‘मनसुनको न्यूनचापीय रेखा नेपालको पश्चिमतर्फ हिजोअस्तिको तुलनामा नगण्य मात्रामा टाढा भएको हो भने पूर्वतर्फ चाहिँ थोरै नजिकिएको हो’, उनले भने, ‘तर पूर्वतर्फ त्यस्तो धेरै वर्षा हुने गरी न्यूनचापीय रेखा नजिकिएको होइन। वर्षा त अझै पनि पश्चिमतर्फ नै बढी हुने सम्भावना छ।’
मौसम महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थान, मधेस प्रदेश साथै कोसी र बागमती प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका समेत एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
यसैगरी राति पनि देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेस प्रदेश साथै कोसी र बागमती प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।

आज काठमाडौँ उपत्यकामा कति बेला छ वर्षाको सम्भावना
काठमाडौँ उपत्यकामा आज सोमबार पनि वर्षाको सम्भावना देखिएको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार काठमाडौँ उपत्यकामा दिउँसो वर्षा हुने सम्भावना छ।
‘अहिले पनि काठमाडौँ उपत्यकाको मौसम बदली छ तर तत्काल वर्षाको सम्भावना कम छ’, उनले भने, ‘दिउँसो १/२ बजेपछि मध्यम वर्षाको सम्भावना देखिएको छ। वर्षाको अझ बढी सम्भावना साँझपख देखिएको छ।’
त्यसअघि भने काठमाडौँ उपत्यकाको मौसम घाम-बादल, घाम-बादल रहने सम्भावना रहेको उनले बताए। यद्यपि घाम त्यति धेरै देखिने सम्भावना देखिएको छैन।’
