जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ भने मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थान आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपालनजिक छ।
महाशाखाले आज (आइतबार) बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार हाल देशभर साधारणतया बादल लागेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो पनि देशभर साधारणतया बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका धेरै स्थान, कोसी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थान, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा, मधेस प्रदेश तथा कोसी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
यसैगरी आज राति पनि देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका धेरै स्थानमा तथा कोसी र बागमती प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा र मधेस प्रदेश तथा कोसी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ।
मौसमविद्लाई प्रश्न: आज काठमाडौँमा वर्षाको सम्भावना कस्तो छ
आज (आइतबार) दिउँसो तथा राति पनि काठमाडौँ उपत्यकामा वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार दिउँसो र राति गरेर काठमाडौँ उपत्यकामा मध्यम वर्षा हुने सम्भावना छ।
‘अहिले पनि उपत्यकाका कतै कतै छिटपुट पानी परिरहेको छ’, उनलेे भने, ‘तर यो अहिले बिहान ८/९ बजेदेखि ११/१२ बजेसम्म अलि कम हुने सम्भावना छ, त्यसपछि फेरि वर्षा सुरु हुने देखिन्छ।’
उनका अनुसार आज दिनभर काठमाडौँ उपत्यकामा बादल नै लाग्ने सम्भावना छ।