बालेनलाई गोपाल शर्माको सुझाव– ‘गुप्तवास छोडेर संसद्मा आउनुस्’

 संवाददाता    २०८३, २६ श्रावण मंगलवार १५:२२     1  जनाले पढ़िसके



Spread the love

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद गोपाल शर्माले प्रधानमन्त्री वालेन्द्र शाहलाई ‘गुप्तवास’ शैली छोडेर संसदमा उपस्थित भई जनप्रतिनिधिको सामना गर्न आग्रह गरेका छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद शर्माले प्रधानमन्त्री संसद र आफूलाई समर्थन गर्ने दलहरूबाट टाढिँदै गएको टिप्पणी गरे। शर्माले प्रधानमन्त्री संसदमा उपस्थित हुँदा मात्रै सुरक्षित र सुदृढ हुने बताए।

‘तपाईंले सकारात्मक पहल गर्नुभयो भने संसदले साथ दिन्छ, तर गलत प्रक्रिया अपनाउनुभयो भने संसद नै तपाईंको विपक्षमा उभिन्छ,’ शर्माले भने।

सांसद शर्माले प्रधानमन्त्रीले आफूलाई निर्वाचित गराउन सहयोग गर्ने दलहरूको कार्यालयमा समेत जान छोडेको भन्दै आलोचना गरे। ‘जसले तपाईंलाई प्रधानमन्त्री बनायो, त्यो दल र जसले तपाईंलाई विश्वासको मत दियो, त्यो संसदबाट टाढा भएर सरकार चलाउन सकिँदैन। त्यसैले संसदसँग निरन्तर संवाद र सहकार्य गर्न म प्रधानमन्त्रीज्यूलाई आग्रह गर्दछु,’ उनले भने।

प्रधानमन्त्री संसद र राजनीतिक दलहरूबाट टाढा रहेकै कारण सामाजिक सञ्जालमा एक्लोपन झल्किने खालका ‘स्टाटस’ लेख्ने अवस्थामा पुगेको उनको भनाइ छ।

‘प्रधानमन्त्रीज्यूलाई मेरो आग्रह छ। गुप्तवासमा नबस्नुहोस्। तपाईं एक्लै हुँदा एक्लै हुनुहुन्छ, तर संसदमा आउँदा सांसद र सिंगो संसद तपाईंको साथमा हुन्छ,’ उनले भने।

सांसद शर्माले प्रधानमन्त्रीको पछिल्लो समयका केही अभिव्यक्तिहरू विवादास्पद रहेको उल्लेख गर्दै ती अभिव्यक्ति सच्याउन सभामुखको ध्यानाकर्षण गराए। उनले प्रधानमन्त्रीलाई आफ्नो गलत अभिव्यक्ति सच्याउन रुलिङ गर्न र उक्त भनाइहरू संसद्को अभिलेखबाट हटाउन समेत सभामुखसँग माग गरे।