गौतम अडानीलाई ठूलो राहत, अमेरिकामा चलिरहेको आपराधिक मुद्दा खारेज

 संवाददाता    २०८३, २६ श्रावण मंगलवार १३:३२     6 जनाले पढ़िसके



Spread the love

अमेरिकाको एक अदालतले अडानी समूहका अध्यक्ष गौतम अडानी र उनका भतिजा सागर अडानीविरुद्ध कथित ठगी र हिनामिनासँग सम्बन्धित आपराधिक आरोप स्थायी रूपमा खारेज गरेको छ।

अमेरिकाको पूर्वी जिल्ला न्यूयोर्कको जिल्ला अदालतले अमेरिकी न्याय विभागले दायर गरेको मुद्दा खारेज गर्न गरेको निवेदन स्वीकृत गरेसँगै करिब दुई वर्षदेखि चलिरहेको आपराधिक कार्यवाही अन्त्य भएको हो।

अदालतले गौतम अडानी, सागर अडानी र अडानी ग्रीन इनर्जी लिमिटेडका पूर्वप्रमुख कार्यकारी अधिकृत विनीत जैनविरुद्ध लगाइएका आरोप खारेज गरेको छ।

उनीहरूमाथि प्रतिभूति ठगीको षड्यन्त्र, तारमार्फत हुने ठगीको षड्यन्त्र र प्रतिभूति ठगी लगायतका आरोप लगाइएको थियो।

अदालतको फैसला ‘डिसमिसल विथ प्रेजुडिस’ अन्तर्गत आएको हो। यसको अर्थ ती आपराधिक आरोपमा पुनः मुद्दा दायर गर्न नसकिने र आपराधिक कार्यवाही स्थायी रूपमा समाप्त भएको हो।

गौतम अडानीले अदालतको फैसलाको स्वागत गरेका छन्। अडानीले देशका लागि निर्माण गर्ने, आफूहरू पछाडि पनि कायम रहने मूल्य सिर्जना गर्ने र आफूभन्दा ठूलो उद्देश्यका लागि काम गरिरहने बताएका छन्।

यो मुद्दा नोभेम्बर २०२४ मा सार्वजनिक भएको थियो। अमेरिकी अभियोजकहरूले गौतम अडानी, सागर अडानी, अडानी ग्रीन इनर्जीका तत्कालीन प्रमुख कार्यकारी अधिकृत विनीत जैन तथा अन्य व्यक्तिहरू भारतीय सरकारी अधिकारीहरूलाई करिब २५ करोड अमेरिकी डलर घुस दिने षड्यन्त्रमा संलग्न रहेको आरोप लगाएका थिए।