कोलम्बियामा सोमबार गएको शक्तिशाली भूकम्पका कारण मृत्यु भएकाको संख्या १३२ पुगेको छ।
भूकम्पले ढालेका भवनमुनि अझै धेरै जना फसेको आशंका गरिएको बीबीसीले जनाएको छ।
सो अवस्थाका कारण कोलम्बिया सरकारले देशमा आपत्कालीन अवस्था घोषणा गरेको छ।
अधिकारीहरूले मृतकको संख्या बढ्न सक्ने सम्भावना व्यक्त गरेका छन्।
कोलम्बियाको भूगर्भ सेवाका अनुसार स्थानीय समय सोमबार बिहान ७:३४ बज्दा ७.४ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पको केन्द्रबिन्दु चोको प्रान्तमा जमिनबाट लगभग १०३ किलोमिटरमुनि थियो।
पश्चिमी कोलम्बियाको सयौँ किलोमिटरसम्म भूकम्पको धक्का महसुस गरिएको थियो।
भूकम्पबाट सबैभन्दा बढी पीडित क्षेत्रमा कफी उत्पादनका लागि प्रसिद्ध पेरेरा सहर र यस आसपास हुन्। भ्याले डेल काउका क्षेत्रमा ठुलो क्षति भएको छ।
भूकम्पको केन्द्रबिन्दुबाट लगभग ५५ किलोमिटर टाढाको पेरेरा सहरमा समेत निकै क्षति भएको छ।
स्थानीय अधिकारीहरूका अनुसार पेरेरा सहर र आसपासका क्षेत्रमा कम्तीमा ४० जनाको मृत्यु भएको छ र ६५ वटा भवन भत्किएका छन्। यीमध्ये १५ वटा भवनमा मानिस फसेको आशंका गरिएको छ।
उद्धार र राहत कार्य जारी छ।