इरानी धम्कीपछि ट्रम्पलाई गोप्य विमानबाट बेलायत लगिएको खुलासा

 संवाददाता    २०८३, २६ श्रावण मंगलवार १२:४९     32 जनाले पढ़िसके



Spread the love

इरानबाट हत्याको धम्की आएपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प गत महिना टर्कीबाट गोप्य रूपमा सानो विमानमा बेलायत भागेको खुलासा भएको छ।

उनले ठुलो एयर फोर्स वन विमान चढेको देखिए पनि त्यसबाट निस्केर सानो सी-३२ ए विमानमार्फत टर्की छाडेको दाबी वासिङ्टन पोस्टले गरेको छ।

वासिङ्टन पोस्टसँग कुरा गर्दै एक अज्ञात अमेरिकी अधिकारीले राष्ट्रपति ट्रम्प गत जुलाई ८ मा अङ्कारामा एयर फोर्स वन विमानमा चढेको बताएका छन्।

त्यसपछि उनी विमानमा जोडिएको खानपान सामग्री राख्ने कन्टेनरमा गएको र उक्त कन्टेनरमार्फत सानो सी-३२ए विमानसम्म पुर्‍याइएको त्यसबाट बेलायत पुगेको दाबी ती अमेरिकी अधिकारीले गरेका छन्।

यस क्रममा सञ्चारमाध्यमका प्रतिनिधि तथा केही अधिकारीलाई राष्ट्रपति ट्रम्प अझै ठुलो एयर फोर्स वनमै रहेको विश्वास दिलाइएको थियो। ठुलो विमानमा रहेका पत्रकारहरूलाई समेत आफ्नो झ्यालको पर्दा बन्द गर्न भनिएको थियो।

युद्ध क्षेत्रमा सुरक्षाका कारण प्रायः अपनाइने यस्तो कदमले राष्ट्रपति ट्रम्पको सुरक्षामा थप शंका उत्पन्न गरेको थियो। यसअघि अमेरिकी सञ्चारमाध्यमले इरानी प्रोक्सी समूहबाट हुन सक्ने खतराका कारण राष्ट्रपति ट्रम्पले टर्कीबाट बाहिरिँदा कतारले अमेरिकालाई उपहार दिएको नयाँ बोइङ ७४७–८ विमान प्रयोग नगरेको उल्लेख गरेका थिए।

नेटो शिखर सम्मेलनमा सहभागी हुन त्यसबेला अङ्कारा पुगेका राष्ट्रपति ट्रम्पले बेलायतस्थित अमेरिकी सेनाका सदस्यलाई नयाँ विमान देखाउने उद्देश्यले आफूले पुरानो बोइङ ७४७ प्रयोग गर्ने बताएका थिए।

तर न्युयोर्क टाइम्ससहित अन्य अमेरिकी सञ्चारमाध्यमले इरानी प्रोक्सी समूहबाट हुन सक्ने सुरक्षा खतराका कारण विमान परिवर्तन गरिएको जनाएका थिए।

विमान परिवर्तनको घटनाले कतारले उपहार दिएको नयाँ एयर फोर्स वनको सुरक्षाबारे पनि प्रश्न उठाएको थियो। उक्त विमानमा पुरानो एयर फोर्स वनमा जस्तै सबै सुरक्षा सुविधा, विशेषगरी क्षेप्यास्त्र प्रतिरोधी प्रणाली, नभएको बताइएको थियो।

कतारको शाही परिवारले गत वर्ष राष्ट्रपति ट्रम्पको अनुरोधपछि अमेरिकालाई उक्त विलासी विमान उपहार दिएको थियो।

सन् १९९० देखि एयर फोर्स वनका रूपमा प्रयोग भइरहेका दुई पुराना बोइङ ७४७ विमानको अवस्थाबारे राष्ट्रपति ट्रम्पले असन्तुष्टि जनाइरहेका थिए।

उपहारस्वरूप प्राप्त विमानलाई अमेरिकी राष्ट्रपतिको प्रयोगका लागि तीव्र रूपमा पुनःसंरचना गरिएको थियो। जुलाई १ मा राष्ट्रपति ट्रम्पलाई पहिलोपटक उक्त विमानमा नर्थ डकोटा लगिएको थियो। त्यसको केही दिनपछि उनले सोही विमानबाट आफ्नो पहिलो विदेशी भ्रमणका क्रममा टर्कीको यात्रा गरेका थिए।

ह्वाइट हाउसका सञ्चार निर्देशक स्टिभन चेउङले नयाँ विमान अत्याधुनिक रहेको र राष्ट्रपति तथा उनका कर्मचारीको सुरक्षा सुनिश्चित गर्न उच्चस्तरीय सुरक्षा प्रोटोकल लागू गरिएको बताएका छन्।

उनले राष्ट्रपति ट्रम्पले हालै अमेरिकाका धेरै शत्रु रहेको र तीमध्ये धेरैको निशाना आफू रहेको बताएको उल्लेख गर्दै त्यस्ता खतरासँग जुध्न सरकारले उपलब्ध सबै साधन प्रयोग गरिरहेको बताए।

ह्वाइट हाउसले गत महिना पनि विमानको सुरक्षा क्षमतामा प्रश्न उठेपछि यही धारणा सार्वजनिक गरेको थियो।

वासिङ्टन पोस्टले सार्वजनिक गरेको भिडिओमा राष्ट्रपति ट्रम्प ठुलो एयर फोर्स वनमा सिँढी चढेर गएको केही मिनेटपछि पुरानो विमानबाट खानपान सामग्री बोक्ने ट्रक बाहिरिएको देखिन्छ। त्यसपछि उक्त वाहनलाई सानो सी-३२ए विमानतर्फ लगिएको देखिएको छ।

दुवै विमान बेलायतमा अवतरण गरेपछि राष्ट्रपति ट्रम्प ठुलो विमानबाट सिँढी हुँदै ओर्लिएको भिडिओमा देखिन्छ। त्यसपछि उनी नयाँ रूपमा पुनःसंरचना गरिएको एयर फोर्स वनमा पुगेका थिए।

तर राष्ट्रपति ट्रम्पलाई सानो विमानबाट ठुलो विमानमा कसरी सारिएको थियो भन्ने विषय स्पष्ट नभएको वासिङ्टन पोस्टले जनाएको छ।

सामाजिक सञ्जालमा भाइरल भिडिओ