पर्सामा चालकले रक्सी पिएर चलाएको ग्यास ट्यांकरले ई-रिक्सालाई ठक्कर दिँदा ९ जना घाइते भएका छन्।
वीरगञ्ज महानगरपालिका –२४ बहुअरी चोकस्थित हुलाकी सडक खण्डमा ग्याँस ट्याङ्करले ईरिक्सालाई पछाडिबाट ठक्कर दिँदा ईरिक्सामा सवार ९ जना घाइते भएका प्रहरीले जनाएको छ।
गएराति करिब ८ बजे पावरहाउसतर्फबाट तिलावे पुलतर्फ जाँदै गरेको ना.२ ह ६६८२ नम्बरको ई–रिक्सालाई सोही दिशाबाट आउँदै गरेको आरजे.१४ जीई ८७१० नम्बरको भारतीय ग्याँस ट्याङ्करले पछाडिबाट ठक्कर दिएर फरार भएको थियो।
दुर्घटनामा घाइते भएका ९ जनामध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। ३ जनाको अवस्था भने मध्यम छ।
सबै घाइतेलाई उद्धार गरी वीरगञ्जस्थित नारायणी न्युरो अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि फरार भागेका ग्याँस ट्याङ्कर चालकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको मुजफ्फरपुर जिल्ला साहेबगञ्जका अन्दाजी ४८ वर्षीय धनेश्वर राय रहेका छन्। चालकले मादक पदार्थ समेत सेवन गरेको स्वास्थ्य परीक्षण पश्चात खुल्न आएको प्रहरीले जनाएको छ।