प्रधानमन्त्री वालेन्द्र शाहले तराई तथा मधेसबाट प्रतिनिधित्व गर्नुहुने सांसदहरूसँग छलफल सुरु गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छलफल त्यस क्षेत्रमा भएका पछिल्लो घटना र त्यसबाट उत्पन्न अवस्थामा केन्द्रित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
छलफलमा सांसदहरू रहबर अन्सारी, नितिमा भण्डारी (कार्की), रविन्द्र पटेल, मनिष झा, रविन महतो, राजकिशोर महतो, गणेश धिमाल, चन्दन सिंह, बिक्रम थापा, मोहनलाल आचार्य, गजाला शमिम मिकरानीलगायत सांसद उपस्थित छन्।
प्रधानमन्त्री शाहले यसअघि आजै मधेस केन्द्रित दलका नेताहरूसँग पनि छलफल गरेका थिए।
प्रधानमन्त्री शाहले सुनसरीलगायत मधेसका केही जिल्लामा उत्पन्न तनाव समाधान र आपसी सद्भाव कायम राख्ने विषयमा संवाद गर्न त्यस क्षेत्रका नेताहरूलाई बोलाएका थिए। प्रधानमन्त्री शाहसँगको छलफल सकारात्मक रहेको उपस्थित नेताहरूले बताएका छन्।
छलफलमा प्रधानमन्त्री शाहले मधेसमा शान्ति सुव्यवस्था कायम राख्न र आगामी दिनमा यस्ता गतिविधि हुन नदिन के गर्न सकिन्छ भन्नेबारे नेताहरूको धारणा मागेका थिए।
छलफलमा उपस्थित नेताहरूले पछिल्लो समय तराईका केही जिल्लामा देखिएको समस्या समाधानका लागि आफूहरूले सुझाव दिएको र उक्त समस्यामा प्रधानमन्त्री संवेदनशील र प्रतिबद्ध भएको आफूले पाएको बताए।
प्रधानमन्त्री शाहसँगको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेताहरूले यसप्रकारको पहलले समस्या समाधानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।
छलफलपछि जनमत पार्टीका अध्यक्ष डा सिके राउतले प्रधानमन्त्री शाहले पहिलो पटक मधेस केन्द्रित राजनीतिक दलसँग छलफल गर्नु धेरै नै सकारात्मक कदम भएको र आफूहरूले पनि तराईका केही जिल्लामा देखिएको समस्या समाधानका लागि सुझाव दिएको बताए।
यस्तै, राजेन्द्र महतोले विगतका सरकारले मधेससँग गरेका सम्झौता कार्यान्वयन गर्न पनि सुझाव दिएको बताए। उनले मधेसमा देखिएको समस्या समाधानका लागि सरकारको सक्रियता अझ बढाउन पनि प्रधानमन्त्रीसँग आग्रह गरेको उल्लेख गरे। सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न र समयमै समस्या समाधानका लागि आग्रह गरिएको बताए।
छलफलमा डा सीके राउत, महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, राम के शर्मा, प्रभु शाह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी, जयकान्त राउत लगायतका नेता सहभागी थिए।