ब्रड पिकमा फेला परेका दुई शवको सनाखत, एक नेपाली रहेको पुष्टि

 संवाददाता    २०८३, १५ श्रावण शुक्रबार १२:५८     78 जनाले पढ़िसके



Spread the love

पाकिस्तानको काराकोरम हिमश्रृङ्खलामा पर्ने ब्रड पिक हिमाल बेपत्तामध्ये भेटिएको चार शवमध्ये दुई आरोहीको पहिचान खुलेको छ।

अल्पाइन क्लब अफ पाकिस्तान (एसीपी)लाई उद्धृत गर्दै पाकिस्तानको सञ्चारमाध्यम डनले उल्लेख गरेअनुसार, ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थी र नेपालका पुरबहादुर गुरुङको शव भेटिएको हो।

एसीपीका अध्यक्ष मेजर जनरल इरफान अर्शदले दुई जनाको शव पहिचान भएको बताएको डनले उल्लेख गरेको छ।

हिमपहिरोमा हराएका १० सदस्यीय टोलीमा ६ जना नेपाली, एक पाकिस्तानी, एक ओमानी, एक अमेरिकी र एक चिनियाँ पर्वतारोही थिए।

नेपाली टोलीमा निर्मल पुर्जा, पुरबहादुर गुरुङ, किली पेम्बा शेर्पा, निमा शेर्पा, नावाङ थिन्दु शेर्पा र ग्यालु शेर्पा रहेका थिए।

अन्य पर्वतारोहीमा ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङ झोङ र अमेरिकाकी म्यालोरी गाइस रहेका थिए।

हेलिकप्टर सहायतासहित उपलब्ध सबै उद्धार स्रोतसाधनलाई परिचालन गरेर बेपत्ता आरोहीको खोजीमा हरसम्भव प्रयास भइरहेको पाकिस्तानी सरकारले जनाएको छ।