अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो शान्ति बोर्डले गाजामा हमास र अन्य सशस्त्र समूहसँग सम्झौता गरेको र यसअन्तर्गत उनीहरूले आफ्ना हतियार बिसाउने सहमति भएको दाबी गरेका छन्।
हमासका एक वरिष्ठ अधिकारीले गाजामा पूर्ण रूपमा हतियार बिसाउने शान्ति बोर्डको प्रस्तावमा सहमति जनाएको पुष्टि गरेको बीबीसीले जनाएको छ। उनले चाँडै आधिकारिक विज्ञप्ति जारी गरिने पनि बताएका छन्।
ट्रम्पले निशस्त्रीकरण पूरा भएपछि इजरायली सेना गाजाबाट फिर्ता हुने बताएका छन्।
उनले सम्झौतालाई ‘अन्ततः गाजामा शासन गर्ने नयाँ प्यालेस्टिनी सरकारतर्फको महत्त्वपूर्ण कदम’ भनेका छन्।
अमेरिकाको मध्यस्थतामा गाजा युद्धविराम योजनाको दोस्रो चरणमा हमासलाई आफ्ना हतियार बिसाउने कुरासँगै गाजा पुनर्निर्माणको योजना पनि समावेश छ।
यसैबिच समाचार एजेन्सी रोयटर्सले पनि नाम नखुलाइएको स्रोतलाई उद्धृत गर्दै गाजा शान्ति योजना कार्यान्वयन गर्ने सम्बन्धमा मध्यस्थकर्ता र हमासबिच कायरोमा वार्ता भएको उल्लेख गरेको छ।
स्रोतले लामो समयपछि केही प्रगति भएको बताएका छन्। यद्यपि एक इजरायली अधिकारीले यसका लागि तय गरिएका सर्त सन्तोषजनक नभएको बताएका छन्।
ट्रम्पले हमासले आफ्ना हतियारहरू त्याग्न सहमति जनाएको घोषणा गरेपछि द टाइम्स अफ इजरायलले एक नाम नखुलाइएको स्रोतलाई उद्धृत गर्दै हमासका वार्ताकार, बोर्ड र मध्यस्थकर्ता देशहरूका प्रतिनिधिहरूबिच सम्झौतामा हस्ताक्षर भएको रिपोर्ट गरेको छ।
यद्यपि रिपोर्टमा इजरायली कार्यालयद्वारा जारी विज्ञप्तिमा निशस्त्रीकरण प्रस्तावले इजरायलको माग पूरा नगरेको उल्लेख गरिएको छ।
यसअघि इजरायली मिडियामा आएका रिपोर्टमा इजरायलले हमाससँग छलफल भइरहेको सम्झौताको विरोध गरेको उल्लेख गरिएको थियो।