गोली चलेको स्वीकारेपछि प्रधानमन्त्री पनि जेनजी आन्दोलनको नजिरबाट उम्कन नसक्ने : ऐन महर

 संवाददाता    २०८३, १४ श्रावण बिहीबार १५:०३     0 View



Spread the love

नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सुनसरी घटनाको जिम्मेवारी प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङले लिनुपर्ने बताएका छन्।

संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यो विषयमा प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ खोजे।

उनले भने,’राज्यबाट गोली चलेको प्रधानमन्त्रीले आफैँ फेसबुकबाट स्वीकार्नुभएको छ। राज्यको सुरक्षा निकायबाट चलेको गोलीको जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिने कि नलिने? हिजो भदौ २३–२४ को घटनामा उहाँहरूले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई दोषी देखाउनुभयो। जेल हाल्ने कोसिस गर्नुभयो।’

उनले यो घटनामा विगतको नजिरको कारणले प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्छ कि पर्दैन? भन्दै प्रश्न गरे।

उनले भने,’उहाँलाई प्रधानमन्त्री अँध्यारो कोठामा बस्नका लागि हो? लोकतान्त्रिक प्रधानमन्त्रीले जनता, प्रतिपक्षसँग संवाद गरेर समस्या समाधान गर्ने कुराको अगुवाइ लिनुपर्छ कि पर्दैन? त्यो अभिभावकत्व, त्यो नेतृत्व सरकारको प्रधानमन्त्रीले लिनुपर्छ कि पर्दैन? आज त्यो देखिएको छैन।’

उनले आज राज्यविहीनताको अवस्था बनेको आरोप लगाए। प्रधानमन्त्री र गृहमन्त्रीबाट रास्वपाले पाएको जनमतको अपमान भएको बताए।