अमेरिकाको विस्कन्सिनमा भीषण आँधी, घरबाहिर ननिस्कन आग्रह

 संवाददाता    २०८३, १२ श्रावण मंगलवार १६:१०     0 View



Spread the love

अमेरिकाको मध्यपश्चिम क्षेत्रमा आएको भीषण आँधीबेहरीका कारण उत्तरपूर्वी विस्कन्सिनमा व्यापक क्षति भएको छ।

आँधीका कारण ३ लाख ९० हजारभन्दा बढी ग्राहक विद्युत् सेवाबाट वञ्चित भएका छन् भने घरहरूमा क्षति, रूख ढल्ने र बिजुलीका तार चुँडिने घटना भएपछि अधिकारीहरूले सर्वसाधारणलाई घरभित्रै बस्न आग्रह गरेका छन्।

सीएनएनका अनुसार मेनासा र एप्पलटन क्षेत्रमा आएको आँधीलाई अमेरिकाको राष्ट्रिय मौसम सेवाले ‘अत्यन्त खतरनाक’ घोषणा गर्दै विशेष चेतावनी जारी गरेको छ।

प्रारम्भिक मूल्यांकनका आधारमा आँधी कम्तीमा ईएफ-२ श्रेणीको टोर्नाडो छ भने यसको अन्तिम मूल्यांकन गर्ने क्रम जारी छ।

आँधीले घरका छाना उडाएको, सम्पत्तिमा ठुलो क्षति भएको, सयौँ रूख उखेलिएको तथा हजारौँ उपभोक्ता विद्युत् सेवाबाट वञ्चित भएको जनाइएको छ।

मेनासा प्रहरी प्रमुख म्याथ्यु अल्ब्रेक्टले क्षतिग्रस्त क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित रूपमा घरभित्रै बस्न आग्रह गर्दै उद्धारकर्मीहरूले प्रभावित क्षेत्रको निरीक्षण र सम्भावित पीडितको खोजी गरिरहेको बताएका छन्।

मेनासा प्रहरी विभागले पनि खसेका बिजुलीका तार, अवरुद्ध सडक तथा अन्य जोखिमका कारण अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र बन्द गरिएका सडक प्रयोग नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

विन्नेबागो काउन्टीका अधिकारीहरूका अनुसार खसेका बिजुलीका तार, ढलेका रूख र अन्य संरचनात्मक क्षतिका कारण धेरै सडक अवरुद्ध भएका छन्। त्यसैले प्रभावित क्षेत्रको पूर्ण क्षतिको विवरण संकलन गर्न कठिनाइ भइरहेको छ।

सीएनएनका अनुसार टोर्नाडो दिउँसो विन्नेबागो तालतर्फ अघि बढ्दै करिब २० मिनेटसम्म जमिनमा सक्रिय थियो।

आँधी विकसित भएको केही मिनेटपछि टोर्नाडो चेतावनी जारी गरिएको भए पनि त्यसअघि नै तीव्र हावा र सम्भावित टोर्नाडोको जोखिमबारे सचेत गराइएको थियो।

यसैबिच सोमबार नै विस्कन्सिनको ह्वाइटवाटर क्षेत्रमा रूख काट्ने क्रममा २९ वर्षीय एक विद्युत् सेवा प्राविधिकको चट्याङ लागेर मृत्यु भएको छ।

स्थानीय अग्नि तथा आपत्कालीन सेवाका अनुसार घटनास्थलमा ठुलो आवाज र चम्किलो प्रकाश देखिएपछि रूखमा चट्याङ परेको निष्कर्ष निकालिएको हो।

मौसमविद्ले ग्रेट लेक्स र ओहायो उपत्यकाका क्षेत्रमा अझै शक्तिशाली हुरी, ठुलो असिना तथा छिटपुट टोर्नाडो आउने सम्भावना रहेकाले थप सतर्कता अपनाउन आग्रह गरेका छन्।