रवीन्द्र मिश्रको हृदयन्द्रलाई सन्देश– गद्दीका लागि तयार रहनुस्

 संवाददाता    २०८३, १४ श्रावण बिहीबार १३:५३     0 View



Spread the love

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्व नवयुवराज हृदयन्द्र वीरविक्रम शाहलाई ‘सरकार’ सम्बोधन गर्दै जन्मदिनको शुभकामना दिएका छन् । हृदयन्द्र ढिलोचाँडो राजाका रूपमा गद्दीमा आसीन हुने भन्दै त्यसका लागि तयार रहन उनको सुझाव छ ।

सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै मिश्रले हृदयन्द्रलाई विश्वकै सबैभन्दा कठिनमध्येको एक जिम्मेवारीका लागि मानसिक, भावनात्मक र बौद्धिक रूपमा तयार रहन आग्रह गरेका हुन् ।

उनले हृदयन्द्रको अहिलेसम्मको सालिनता र गरिमाको प्रशंसा गर्दै लेखेका छन्, ‘ढिलोचाँडो सरकारबाट गद्दीआसीन हुनुपर्ने दिन अवश्य आउनेछ । सो दिनका लागि आफूलाई तयार राख्नुहोला ।’

मिश्रले नेपालको वर्तमान राजनीतिक अवस्था र भू-राजनीतिक संवेदनशीलतालाई औंल्याउँदै राजसंस्थाको पुनर्स्थापना अपरिहार्य रहेको जिकिर गरेका छन् । उनले गत भदौ २३ र २४ गतेका घटनाहरूलाई स्मरण गर्दै राजसंस्था नभएकै कारण विदेशी शक्तिहरूले खेल्ने मौका पाएको र देश द्वन्द्वमा फस्न सक्ने चेतावनी दिएका छन् ।

‘मैले बारम्बार भन्ने गरेको छु, नेपालमा राजसंस्था भइदिएको भए भदौ २४ गते न देउवा दम्पतीले कुटाइ खानुपर्थ्यो, न नेताहरू हेलिकोप्टर चढेर भाग्नुपर्थ्यो,’ मिश्रले अगाडि लेखेका छन्, ‘नेपालजस्तो संवेदनशील देशमा राजसंस्था पुनर्स्थापित नगर्नु भनेको देशको भविष्य नै संकटमा पार्नु हो ।’

उनले राजसंस्थाको आवश्यकता सम्बन्धी चेतना अहिले जनतामा व्यापक बनिसकेको दाबी समेत गरेका छन् ।

‘विचारभन्दा माथि देश’ र ‘देशका लागि नरेश’ को नारालाई जोड दिँदै उनले देशको संरचनागत पुनरावलोकन नगरिए मुलुक अस्तित्वको संकटमा पर्न सक्ने भन्दै सचेत गराएका छन् ।