मध्यपूर्वमा युद्धको जोखिम बढ्यो, अमेरिकाले इरानमा गर्‍यो व्यापक हमला

 संवाददाता    २०८३, १४ श्रावण बिहीबार ११:४८     29 जनाले पढ़िसके



Spread the love

जोर्डनस्थित अमेरिकी सैन्य अड्डालाई लक्ष्य गरी इरानले गरेको क्षेप्यास्त्र आक्रमणको प्रयासपछि संयुक्त राज्य अमेरिकाले बिहीबार इरानका विभिन्न सैन्य लक्ष्यमा व्यापक जवाफी आक्रमण गरेको छ।

करिब एक सातादेखि रोकिएको सैन्य भिडन्त पुनः सुरु भएसँगै वार्तामार्फत तनाव कम हुने आशामा गम्भीर धक्का लागेको छ भने मध्यपूर्व फेरि युद्धको जोखिमपूर्ण चरणमा प्रवेश गरेको छ।

अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्ट्रल कमान्ड) ले यो कारबाहीलाई मध्यपूर्वमा तैनाथ आफ्ना सैनिकमाथि भएको इरानी आक्रमणको ‘शक्तिशाली प्रतिक्रिया’ भएको जनाएको छ।

आक्रमणअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फक्स न्युजसँग कुरा गर्दै इरानलाई ‘कडा प्रहार’ गरिने चेतावनी दिभएका थिए।

इरानी सरकारी सञ्चारमाध्यमका अनुसार पश्चिमोत्तर पिरानशहर सीमावर्ती क्षेत्रमा अमेरिकी क्षेप्यास्त्र प्रहार भएको छ। फार्स समाचार एजेन्सीले निर्जन क्षेत्रमा आक्रमण भएकाले मानवीय क्षति नभएको जनाएको छ।

त्यसअघि जोर्डनको सेनाले इरानबाट प्रहार गरिएका पाँचवटा क्षेप्यास्त्र अवरोध गरी नष्ट गरेको जानकारी दिएको थियो। इरानको इस्लामिक रिभोलुसनरी गार्ड्सले ती आक्रमण अमेरिकी सैन्य अड्डालक्षित रहेको दाबी गर्दै इरानमाथिको खतरा कायम रहेसम्म ‘प्रतिरोध जारी रहने’ चेतावनी दिएको छ।

युद्धको अर्को मोर्चामा इजरायलले लेबनानबाट हिजबुल्लाहले इजरायली सवारीसाधनलाई लक्षित गरी ड्रोन प्रयोग गरेको आरोप लगाउँदै त्यसलाई युद्धविरामको स्पष्ट उल्लंघन भनेको छ।

यसअघि इजरायलले इरानविरुद्धको युद्धको प्रारम्भिक चरणमा अमेरिकासँग संयुक्त रूपमा कारबाही गरेको भए पनि पछिल्लो अमेरिकी आक्रमणमा प्रत्यक्ष सहभागी भएको पुष्टि भएको छैन।

यसैबिच अमेरिका र साउदी अरेबियाले इराकभित्र इरानसमर्थित सशस्त्र समूहका आधार र हतियार भण्डारण स्थललाई लक्ष्य गरी संयुक्त हवाई आक्रमण गरेका छन्। अमेरिकी सेनाले रसद तथा हतियार भण्डारण केन्द्रमा प्रहार गरिएको जनाएको छ।

इराकको हसद अल–शाबी गठबन्धनले उक्त आक्रमणमा आफ्ना कम्तीमा २० सदस्य मारिएको दाबी गरेको छ। गठबन्धनले यसलाई इराकको आधिकारिक सुरक्षा संरचनामाथिको ‘खतरनाक वृद्धि’ भन्दै निन्दा गरेको छ।

दुई हसद अधिकारीका अनुसार मारिनेमा पाँच इरानी सैन्य सल्लाहकार पनि छन्।

एएफपीका संवाददाताले इरानी झण्डाले ढाकिएका कफिनहरू देखेको जनाएका छन्। सन् २०१४ मा जिहादीविरुद्ध लड्न गठन गरिएको हसद अल–शाबी पछि इराकी सुरक्षा संरचनामा समाहित भएको थियो।

यसभित्र इरानसँग निकट सम्बन्ध रहेका विभिन्न सशस्त्र समूह आबद्ध छन्। इराक सरकारले अमेरिका–साउदी आक्रमणको विरोध गर्दै आफ्नो सार्वभौमसत्तामाथिको हस्तक्षेप अस्वीकार्य भएको जनाएको छ।

राष्ट्रिय सुरक्षा परिषद्ले इराकको भूमि कुनै पनि छिमेकी राष्ट्रविरुद्ध प्रयोग हुन नदिइने स्पष्ट पारेको छ। यद्यपि फक्स न्युजका अनुसार राष्ट्रपति ट्रम्पले भने यो कारबाही इराकी सरकारसँग समन्वय गरेर गरिएको दाबी गरेका छन्। यी घटनाक्रम अमेरिकाले इरानसमर्थित सशस्त्र समूहलाई निःशस्त्रीकरण गर्न इराकमाथि दबाब बढाइरहेका बेला भएका हुन्।

यसै महिनाको सुरुआतमा इराकका प्रधानमन्त्री अली अल–जैदीले अमेरिका र इरान दुवैको भ्रमण गरेका थिए। युद्धका कारण विश्व ऊर्जा बजारमा पनि प्रभाव परेको छ। तेलको मूल्य बढेपछि अमेरिकी सेयर बजारमा तीव्र गिरावट आएको छ भने ३० वर्षे अमेरिकी ट्रेजरी बन्डको प्रतिफल सन् २००७ यताकै उच्च स्तरमा पुगेको छ। यसअघि अमेरिका र इरानबिच तनाव कम गर्दै नयाँ चरणको वार्ता सुरु गर्ने प्रयास भइरहेको थियो। त्यसको केन्द्रमा विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण हर्मुज जलघाँटी थियो।

हर्मुज जलघाँटीलाई इरानले युद्धको अधिकांश अवधिमा प्रभावकारी रूपमा नियन्त्रणमा राखेको थियो। इरानको रिभोलुसनरी गार्ड्सले जलडघाँटीमा पूर्ण नियन्त्रण रहेको दाबी गर्दै तीनवटा तेल ट्यांकर नियन्त्रणमा लिएको जनाएको छ।

तेहरानले उक्त मार्ग प्रयोग गर्ने जहाजबाट शुल्क उठाउने योजना पनि सार्वजनिक गरेको छ, जसको अमेरिकाले कडा विरोध गरेको छ। यससँगै वासिङ्टनले हर्मुज हुँदै आवतजावत गर्ने जहाजलाई दबाबमा पारेको आरोप लगाउँदै इरानको रिभोलुसनरी गार्ड्ससँग सम्बद्ध संस्था र व्यक्तिमाथि नयाँ प्रतिबन्ध घोषणा गरेको छ।

हर्मुज मार्गमा बढ्दो असुरक्षाका कारण साउदी अरेबियाको वैकल्पिक निर्यात मार्गका रूपमा लाल सागरको रणनीतिक महत्त्व अझ बढेको विश्लेषण गरिएको छ।