अमेरिका र इरानबीचको तनाव थप चुलिँदै गए पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य केही घटेको छ।
रोयटर्सका अनुसार जीएमटी समयअनुसार १:१० बजे ब्रेन्ट क्रुडको मूल्य १.२९ डलर अर्थात् १.४२ प्रतिशतले घटेर प्रतिबारेल ८९.४५ डलरमा झरेको छ।
द्वन्द्व विस्तार भइरहे पनि मध्यपूर्वबाट तेल बोकेका ट्यांकरहरू नियमित रूपमा बाहिरिन जारी रहेकाले मूल्यमा केही दबाब परेको विश्लेषण गरिएको छ।
यस्तै, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडियट (डब्लुटीआई) क्रुडको मूल्य ५६ सेन्ट अर्थात् ०.६६ प्रतिशतले घटेर प्रतिबारेल ८३.९० डलरमा कारोबार भइरहेको छ।
यसअघि अघिल्लो कारोबार सत्रमा भने तेलको मूल्यमा तीव्र वृद्धि भएको थियो। ब्रेन्ट क्रुड ७.९१ प्रतिशतले बढेको थियो भने डब्लुटीआई ६.५६ प्रतिशतले उकालो लागेको थियो। यो वृद्धि अमेरिका–इरान युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो दैनिक वृद्धिमध्ये एक हो।
यसअघि मंगलबार पाँच महिनादेखि जारी द्वन्द्वमा आएको छोटो विरामपछि तेलको मूल्य करिब ५ प्रतिशतले घटेको थियो।