अनिश्चितकालीन कर्फ्युसँगै सुनसरीमा चहलपहल शून्य

 संवाददाता    २०८३, १३ श्रावण बुधबार ११:१०     24 जनाले पढ़िसके



Spread the love

सुनसरीको देवानगन्जस्थित कप्तानगन्जमा भएको हिंसात्मक झडपपछि सुनसरी जिल्ला प्रशासन कार्यालयले लगाएको अनिश्चितकालीन कर्फ्युका कारण आज (बुधबार) बिहान घटनास्थलसहित कोसी राजमार्ग तथा बजार क्षेत्र सुनसान देखिएको छ।

गैरकानुनी गतिविधि, ढुंगामुढा तथा घरटहरामा आगजनी भएपछि जिल्ला सुरक्षा समितिको निर्णयअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु आदेश जारी गरिएको हो।

सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले अर्को आदेश जारी नभएसम्मका लागि तोकिएका क्षेत्रमा आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा र घेराउ गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको जानकारी दिए।

​प्रशासनले इटहरी उपमहानगरपालिका (वडा नं. १६ र १७ को महेन्द्र राजमार्गको २०० मिटर दायाँ-बायाँ), रामधुनी नगरपालिका (वडा नं. १ र ५ को महेन्द्र राजमार्गको २०० मिटर दायाँ-बायाँ) तथा इनरुवा, दुहबी, भोक्राहा नरसिंह, कोसी, गढी, देवानगन्ज, हरिनगर र बर्जु गाउँपालिकाका सम्पूर्ण क्षेत्रमा कर्फ्यु लागु गरेको छ।

आदेशविपरीत कार्य गरेमा प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनी दिइएको छ। ​

गएराति कप्तानगन्जमा दुई समूहबिच झडप भएको थियाे। आगजनी र भौतिक क्षतिको विवरण कसैसँग पनि छैन।

सामाजिक सञ्जालमा धारिलो हतियार प्रहार भएका भ्रामक तस्बिर सेयर भइरहेकाले त्यस्ता अफवाहको पछि नलाग्न प्रहरीले नागरिकलाई अनुरोध गरेको छ।

कर्फ्यु लागु भएपछि आज बिहानदेखि सुनसरीका मुख्य बजार तथा ग्रामीण क्षेत्रमा सुरक्षा निकायको बाक्लो उपस्थिति छ।