गगन थापाको कटाक्ष– सरकार सामाजिक सञ्जालको स्टाटसमै सीमित हुन मिल्दैन

 संवाददाता    २०८३, १३ श्रावण बुधबार ११:०६     24 जनाले पढ़िसके



Spread the love

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरी घटनाप्रति प्रधानमन्त्री वालेन्द्र शाह बालेनको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

आज (बुधबार) बिहान सिंहदरबारमा आयोजित सर्वदलीय बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले सुनसरीमा शान्ति स्थापनाका लागि प्रधानमन्त्री शाह स्टाटसमा मात्र सीमित भएको टिप्पणी गरेका हुन्।

‘यो बेलामा प्रधानमन्त्रीले रिच आउट गर्नु पर्दैन? सबैलाई जोड्ने प्रयास गर्नु पर्दैन? सबैको भएर सबैलाई जोडेर लैजाने प्रयास गर्नु पर्दैन? गर्नुपर्छ भन्ने हामी ठान्छौँ’ उनले भने, ‘सरकार बन्दुकको गोली र लाठीमा मात्र भेटिनु हुँदैन। स्टाटसहरूमा मात्र सीमित रहनु हुँदैन।’

उनले थपे, ‘सरकार भनेको अभिभावक मात्र होइन, लिडर पनि हो। लिडरले कोलेबरेट गर्न सक्नुपर्छ। अरूलाई विश्वास गर्न सक्नुपर्छ। अनि अरूले पनि विश्वास गर्छ। यतिबेला प्रधानमन्त्रीले तत्कालै सर्वदलीय बैठक बोलाउने हो, राष्ट्रपतिलाई भेट्ने हो, प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गर्ने हो। आफूले गरिरहेका प्रयासका बारेमा बताउने हो। साझा प्रयासका लागि आधार पनि निर्माण गर्ने हो। भूकम्प र कोभिडका बेला दलहरूका बिचमा तनाव व्यापक थियो तर प्रधानमन्त्रीले बोलाउँदा सबै जना दौडिएर आएका थियौँ। यो नेपाली राजनीतिक दलहरूको क्यारेक्टर हो। नेपालका सबै प्रधानमन्त्रीहरूले अप्ठेरो पर्दा यो गर्दै आउनुभएको छ।’

सरकार नेतृत्वर्कता दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज बिहान सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा सर्वदलीय बैठक बसेको थियो। लामिछानेले सुनसरी घटनालगायत समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक राखेका हुन्।

बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा र संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड, नेकपा एमालेका महासचिव शंकर पोखरेल, जनमत पार्टीका अध्यक्ष सीके राउत, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन तथा सांसद खुस्बु ओलीलगायत नेता सहभागी भएका थिए।

गत आइतबार मध्यराति सुनसरीको देवानगन्जस्थित कप्तानगन्जमा दुई समुदायबिच झडप हुँदा सुरक्षाकर्मीले चलाएको गोली लागेर कप्तानगन्ज बस्ने ओमप्रकाश मेहताको मृत्यु भएको थियो। त्यसयता सो क्षेत्र तनावग्रस्त बनेपछि सुनसरी जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन कर्फ्यु लगाएको छ।

उक्त घटनाका विषयमा प्रधानमन्त्री बालेनले मंगलबार मध्यराति त्यो पनि फेसबुक स्टाटसमार्फत आफ्नो धारणा राखेका थिए।