सरकारले अभिभावकीय भूमिका खेल्नुपर्ने शंकर पोखरेलको धारणा

 संवाददाता    २०८३, १३ श्रावण बुधबार ११:०१     18 जनाले पढ़िसके



Spread the love

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुनसरीका नागरिकका लागि सरकारले अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।

बुधबार सिंहदरबारमा आयोजित सर्वदलीय बैठकबाट बाहिरिने क्रममा एमाले महासचिव पोखरेलले सञ्चारकर्मीहरूसँग कुरा गर्दै सुनसरी घटनामा सरकारको भूमिकाप्रति असन्तुष्टि जनाएका हुन्।

‘सुनसरीका नागरिकका लागि सरकारले अभिभावकको भूमिका खेलेको छ भन्ने प्रत्याभूति हुनुपर्छ’ उनले भने, ‘सुरक्षा निकायको मनोबल गिरेका कारण यस्ता घटना हुन्छन् वा सुरक्षा निकायलाई भिड व्यवस्थापन गर्नसक्ने र नागरिकको ज्यान नजाने गरी ध्यान दिन जरुरी छ।’

सरकार नेतृत्वर्कता दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज बिहान सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा सर्वदलीय बैठक बसेको थियो। लामिछानेले सुनसरी घटनालगायत समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक राखेका हुन्।

बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा र संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड, नेकपा एमालेका महासचिव शंकर पोखरेल, जनमत पार्टीका अध्यक्ष सीके राउत, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन तथा सांसद खुस्बु ओलीलगायत नेता सहभागी भएका थिए।

गत आइतबार मध्यराति सुनसरीको देवानगन्जस्थित कप्तानगन्जमा दुई समुदायबिच झडप हुँदा सुरक्षाकर्मीले चलाएको गोली लागेर कप्तानगन्ज बस्ने ओमप्रकाश मेहताको मृत्यु भएको थियो।