मौसम चेतावनी: चार प्रदेशमा भारी वर्षा, ९ जिल्ला उच्च जोखिममा

 संवाददाता    २०८३, २१ असार आईतवार ११:२२     12 जनाले पढ़िसके



Spread the love

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल (आइतबार बिहान) लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश, कोसी प्रदेशका पहाडी र तराई भूभाग, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भेगमा साधारणतया बादल लागेको छ। कोसी प्रदेशको हिमाली भूभाग, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका तराईमा आंशिक बादल लागेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान, कोसी प्रदेशका थोरै स्थान साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मध्यमसम्म वर्षा भइरहेको छ।‌

मौसमविद्का अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी क्षेत्रतर्फ सरदर स्थानभन्दा दक्षिण र पश्चिमीतर्फ सरदर स्थानको आसपास छ।

मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको मौसम प्रक्षेपण यस्तो छ:

दिउँसो : देशका हिमाली र पहाडी भेगमा साधारणतया बादल लाग्नेछ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईमा पनि साधारणतया बादल लाग्नेछ। कोसी, मधेस र बागमती प्रदेशका तराई क्षेत्रमा आंशिक बादल लाग्नेछ। देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका पनि केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। मधेस प्रदेश साथै कोसी र बागमती प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका साथै कोसी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। मधेस प्रदेश साथै कोसी प्रदेशको तराई भूभागका केही स्थानमा हुरीको समेत सम्भावना छ।

राति : कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ। बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा साधारणतया बादल लाग्नेछ भने मधेस प्रदेश साथै बागमती, गण्डकी प्रदेशका तराई भेगमा आंशिक बादल लाग्नेछ। देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। कोसी प्रदेश साथै सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा स्थान, कर्णाली प्रदेशका पहाडी भूभाग, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। मधेस प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका साथै कोसी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

काठमाडौँमा पनि मध्यम वर्षाको सम्भावना

आज काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसम महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार काठमाडौँ उपत्यकामा अहिले बिहान घाम लागे पनि अपराह्नपछि बादल बढ्दै जाने र वर्षा हुने सम्भावना छ।

‘अपराह्न, साँझ र राति वर्षाको सम्भावना बढी छ’, उनले भने, ‘दिउँसो २/३ बजेपछि वर्षा सुरु हुने अनुमान छ। मध्यमसम्म वर्षा हुने सम्भावना छ।’