फ्रान्सका कप्तान किलियन एम्बाप्पे फिफा विश्वकप-२०२६ मा ‘गोल्डेन बुट’को दौडमा अर्जेन्टिनी कप्तान लियोनल मेसीभन्दा अघि देखिएका छन्।
मेसी र एम्बाप्पेको जारी विश्वकपमा हालसम्मको गोलसंख्या ७-७ भए पनि एम्बाप्पे असिस्ट गोलको आधारमा मेसीभन्दा अघि छन्।
एम्बाप्पेकै निर्णायक १ गोल मद्दतमा पाराग्वेलाई पराजित गर्दै फ्रान्स जारी विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
आइतबार बिहान सम्पन्न प्रिक्वार्टरफाइनको खेलमा पाराग्वेलाई १-० गोल अन्तरले पराजित गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको हो।
एम्बाप्पे उमेरले २७ वर्षका मात्रै भए। मेसी भने केही दिन अघि मात्रै ३९ वर्ष लागेका छन्।
एमबाप्पेले यसअघि भएको राउन्ड अफ ३२ को खेलमा स्विडेनविरुद्ध दुई गोल गरेका थिए। उनकै गोल मद्दतमा फ्रान्सले स्वीडेनलाई ३-० ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको थियो।
एमबाप्पेले समूह चरणमा सेनेगल र इराक विरुद्ध २-२ गोल गरेका थिए।
एम्बाप्पेले जारी विश्वकपमा ५ खेलमा ७ गोल गरिसकेका छन्। जारी खेलमा एम्बाप्पेले आफ्नो टिमको लागि २ गोलमा मद्दतसमेत गरेका छन्। मेसीको भने जारी विश्वकपमा असिस्ट गोल छैन।
मेसीले समूह चरणमा अल्जेरिया विरुद्धको खेलमा ह्याट्रिक (३ गोल) गरेका थिए। त्यसैगरी उनले जोर्डनविरुद्धको खेलमा १ गोल गरे भने अस्ट्रियाविरुद्धको खेलमा २ गोल गरे।
शनिबार बिहान केपभर्डविरुद्ध भएको खेलमा मेसीले १ गोल गरेर जारी विश्वकपमा गोल संख्या ७ पुर्याएका छन्।
आज पाराग्वेविरुद्ध गरेको १ गोलले एमबाप्पेलाई गोल्डेन बुटको दौडमा मेसीभन्दा अघि ल्याएको हो।
चारपटक विश्वकप खेलेका मेसीले हालसम्म २० गोल गरेका छन्। एम्बाप्पे विश्वकपमा मेसीको सर्वकालीन २० गोलको कीर्तिमानभन्दा अब मात्र एक गोलले पछि छन्। उनको पनि गोलसंख्या १९ पुगेको छ।
सन् २०२२ को विश्वकपको गोल्डेन बुट पनि एम्बाप्पेले नै जितेका थिए। त्यतिबेला फ्रान्सले फाइनलमा अर्जेन्टिनासँग हार्दा एम्बाप्पेले गोल्डेन बुटमै चित्त बुझाउनु परेको थियो।