फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोले भेनेजुएलाको भूकम्पमा परी खुट्टा गुमाएका एक बालकलाई विशेष सन्देश पठाएका छन् ।
अस्पतालमा आराम गरिरहेका बालक एन्ड्रेस मिएलेसलाई रोनाल्डोले भावुक सन्देश पठाएका हुन् ।
सन्देशमा रोनाल्डोले भनेका छन्, ‘हेल्लो एन्ड्रेस, तिमीलाई कस्तो छ ? तिमीलाई मेरो न्यानो माया पठाउन यो भिडियो बनाउँदैछु ।
मलाई थाहा छ, तिमी मेरो धेरै ठूलो प्रशंसक हौ । तिमी अलि तंग्रिएपछि म तिमीलाई मेरो एउटा खेल प्रत्यक्ष हेर्नका लागि निम्तो दिन चाहन्छु । म तिमीलाई भेट्न धेरै इच्छुक छु । मेरो तर्फबाट धेरै माया ।’
एन्ड्रेसले भूकम्पमा आमाबुवा समेत गुमाएका एन्ड्रेस अनाथ बनेका छन् । रोनाल्डोका सुपरफ्यान रहेका एन्ड्रेसले अस्पतालको बेडबाट रोनाल्डोको ट्रेडिङ कार्डको इच्छा व्यक्त गरेका थिए । तर, सुपरस्टार रोनाल्डोले एन्ड्रेसका लागि भावुक सन्देश पठाएर आफ्नो खेल हेर्न निम्तो नै दिए । साथै आफ्नो हस्ताक्षर भएको पोर्चुगलको जर्सी नै पठाउने बाचा गरेका छन् ।
रोनाल्डोको सन्देश प्राप्त गरेपछि एन्ड्रेस अस्पतालको बेडमा खुसी भएको भिडियो भाइरल भइरहेको छ । उनलाई वरिपरि रहेका सहयोगीहरूले ताली पड्काएर बधाई दिएका छन् ।
रोनाल्डोको सन्देशपछि एन्ड्रेसको उपचार र भविष्यका लागि विभिन्न संघसंस्थाले आर्थिक सहयोग उठाउन थालेका छन् ।
रोनाल्डोले २०७२ सालमा नेपालमा गएको भूकम्पपरी ज्यान गुमाउनेहरूप्रति समवेदना प्रकट गर्दै फन्ड राइजिङका लागि आह्वान समेत गरेका थिए ।