राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई कमजोर बनाउनको लागि अनेक प्रकारका षड्यन्त्र र आक्रमणहरूको भएको बताएका छन्।
जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीलाई बलियो बन्न नदिने षड्यन्त्र भइरहेको जिकिर गरे।
उनले भने, ‘यो स्थापना कालदेखि आजसम्म पनि षड्यन्त्रबाट हामी मुक्त हुन सकिराखेका छैनौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीलाई अहिले पनि घेराबन्दीका प्रयासहरू भइराखेका छन्। यो सबै आक्रमण, यो सबै घेराबन्दीलाई चिरेर अगाडि बढ्नुको विकल्प हामीसँग छैन।’
उनले राप्रपालाई उठ्न नदिन कतिपय मानिसहरू प्रयोग भइराखेको बताए।
उनले थपे, ‘केहीलाई राप्रपालाई बदनाम गर्नु छ। राप्रपालाई कमजोर नपारीकन देशको एउटा राष्ट्रिय शक्तिलाई कमजोर पार्न सकिँदैन। नेपाललाई कमजोर पार्न सकिँदैन भन्ने ध्येयका साथ केही मानिसहरू परिचालित छन्। जो चलिराखेका छन्, जो बोलिराखेका छन्, उनीहरूलाई थाहा नहुन सक्छ।’