अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका राष्ट्रपति मसुद पेजेस्कियानले शान्ति सम्झौतामा भर्चुअल हस्ताक्षर गरेपछि अब दुई देशबिच प्रारम्भिक चरणको वार्ता स्विट्जरल्यान्डमा गर्ने तयारी भइरहेको छ।
द टाइम्स अफ इजरायलका अनुसार अमेरिका र इरानबिच शुक्रबार स्विट्जरल्यान्डको बुर्गेनस्टक माउन्टेन्टप रिसोर्टमा प्रारम्भिक वार्ता गर्ने तयारी भइरहेको हो। रोयटर्सले पनि यस्तै समाचार लेखेको छ।
स्विट्जरल्यान्डको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी भनेको छ, ‘यस वार्ताको तालिका र विवरणबारे हाल थप जानकारी उपलब्ध छैन।’
‘अहिलेसम्मको योजना के छ भने अमेरिका र इरान मध्यस्थकर्ताहरू पाकिस्तान र कतारसहित सम्बन्धित न्य देशका साथ सम्झौता लागु गर्नेबारे प्रारम्भिक वार्ताका लागि भोलि (शुक्रबार) बर्गेनस्टकमा भेटवार्ता गर्ने छन्।’
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सको इभियन-लेस-बेन्समा आयोजित जी-७ शिखर सम्मेलनका क्रममा बुधबार राति सम्झौतामा हस्ताक्षर गरेका हुन्। त्यसपछि इरानका राष्ट्रपति पेजेस्कियानले इलेक्ट्रोनिक रूपमा सम्झौतामा हस्ताक्षर गरेका हुन्।
यो १४-बुँदे सम्झौतालाई मेमोर्यान्डम अफ अन्डरस्ट्यान्डिङ (एमओयू) भनिएको छ।
जसमा इरान र लेबनानमा पनि लडाइँ अन्त्य गर्ने, होर्मुज स्ट्रेट पुनः खोल्ने तथा अमेरिकी नौसेना नाकाबन्दी अन्त्य गर्ने विषय उल्लेख छन्। अनि सम्झौतामा इरानले कहिल्यै आणविक हतियार विकास गर्न नपाउने कुरा पनि रहेको दाबी गरिएको छ।
यस्तै पुनर्निर्माण र आर्थिक विकासका लागि ३०० अर्ब डलर कोष स्थापना गरिने कुरा पनि सम्झौतामा रहेको बताइएको छ।