उत्तरी अमेरिकामा जारी फिफा विश्वकप २०२६ एक सातामा प्रवेश गरिसकेको छ। प्रतियोगिताको पहिलो सातामा २४ समूह चरणका खेल सम्पन्न हुँदा ७५ गोल भइसकेका छन्।
प्रतियोगिता अझै सुरुआती चरणमै रहे पनि एउटा विषयले भने व्यापक बहस जन्माएको छ। त्यो हो—‘हाइड्रेसन ब्रेक’। विश्व फुटबल महासंघ (फिफा)ले यस विश्वकपका हरेक खेलको दुवै हाफमा अनिवार्य रूपमा हाइड्रेसन ब्रेक लागू गरेको छ।
यसको उद्देश्य गर्मी र आर्द्रताका कारण खेलाडीको स्वास्थ्यमा पर्न सक्ने असर कम गर्नु रहेको फिफाको भनाइ छ।
यस व्यवस्थाअनुसार प्रत्येक हाफको मध्यभागमा खेल करिब तीन मिनेटका लागि रोकिन्छ। त्यस अवधिमा खेलाडीहरूले पानी तथा शरीरलाई आवश्यक खनिजयुक्त पेय पदार्थ सेवन गर्छन्।
फिफाले यसलाई प्रतियोगितामा खेलाडीको स्वास्थ्य सुरक्षाप्रतिको आफ्नो प्रतिबद्धताको हिस्सा भएको बताएको छ र यस निर्णयलाई स्वास्थ्य विज्ञहरूको समर्थन रहेको जनाएको छ।
तर प्रतियोगिता सुरु भएपछि हाइड्रेसन ब्रेकको वास्तविक उद्देश्यबारे प्रश्न उठ्न थालेका छन्। आलोचकहरूको मुख्य तर्क के छ भने फिफाले तापक्रम वा आर्द्रताको अवस्थालाई ध्यान नदिई हरेक खेलमा हाइड्रेसन ब्रेक अनिवार्य बनाएको छ।
त्यसैले मौसम चिसो भएका खेलहरूमा समेत खेल रोकिएको छ। उदाहरणका लागि, घाना र पानामाबीचको खेलका क्रममा टोरन्टोमा तापक्रम केवल १९ डिग्री सेल्सियस मात्र थियो। त्यस्तै, छाना भएका र तापक्रम नियन्त्रण गर्न सकिने रंगशालाहरूमा पनि यही नियम लागू गरिएको छ।
धेरै समर्थकहरूको बुझाइमा यसले फुटबल खेललाई चार खण्डमा विभाजन गरेको छ, जुन अमेरिकी खेल संस्कृतिमा सामान्य भए पनि फुटबलमा नयाँ अभ्यास हो।
यसबीच टेलिभिजन प्रसारणकर्ताहरूले हाइड्रेसन ब्रेकका क्रममा विज्ञापन प्रसारण गर्न थालेपछि विवाद झन् चर्किएको छ।
विशेषगरी अमेरिकी प्रसारण संस्था फक्सले ब्रेकका बेला विज्ञापन देखाइरहेको छ। यसले फिफालाई अतिरिक्त विज्ञापन बिक्री गर्ने अवसर प्रदान गरेको आलोचकहरूको आरोप छ।
यसप्रकारको अवस्था नेपालमा पनि देखिएको छ। हाइड्रेसन ब्रेकको समयमा नेपालमा पनि विज्ञापन बज्ने गर्दछ। यसबारेमा असन्तुष्टि जनाउँदै केही प्रयोगकर्ताहरुले फेसबुकमा राय समेत दिएका छन्।
एक प्रयोगकर्ता लेख्छन्– ‘विश्वकप हेर्न छुट्टै महँगो शुल्क तिरेर खर्च गरेको विज्ञापन हेर्नको लागि होइन। हाइड्रेसन ब्रेकमा खेलाडीहरुको रणनीति देख्न सकिन्छ। उनीहरुको ग्यादरिङ देख्न पाइन्छ। यो त अत्ति भयो, विज्ञापनले यी दृश्यहरु हेर्न पाइँदैन। यो कुरा सम्बन्धित निकायसम्म पुर्याइदिनुहोला।’
नेदरल्यान्ड्सका कप्तान भर्जिल भान डाइकले पनि यसबारे असन्तुष्टि व्यक्त गरेका छन्।
उनले पत्रकारहरूसँग भने, “मैले अहिलेसम्मका लगभग सबै खेल हेरेको छु। हरेक पटक खेल रोकिएपछि विज्ञापनमा जानु मलाई मन पर्दैन। टेलिभिजनमा खेल हेर्ने तटस्थ दर्शकहरूका लागि पनि यो राम्रो अनुभव होइन।”
अर्कोतर्फ, केही प्रशिक्षकहरूले भने हाइड्रेसन ब्रेकलाई रणनीति परिवर्तन गर्ने अवसरका रूपमा प्रयोग गरिरहेका छन्। प्रतियोगिताका धेरै खेलमा ब्रेकपछि खेलको गति र परिणाम नै बदलिएको देखिएको छ।
कतिपय प्रशिक्षकहरू ब्रेकका क्रममा रणनीतिक बोर्ड प्रयोग गर्दै खेलाडीलाई निर्देशन दिइरहेका छन्।
बेल्जियमका प्रशिक्षक रुडी गार्सियाले भने, “मेरो लागि यो शीतलता प्राप्त गर्ने समयभन्दा बढी प्रशिक्षकीय समय हो। त्यसैले यो निकै महत्त्वपूर्ण छ।”
यसरी हाइड्रेसन ब्रेक खेलाडीको स्वास्थ्य सुरक्षाका लागि आवश्यक कदम हो कि अतिरिक्त विज्ञापन आम्दानी र खेलमा बढ्दो व्यावसायीकरणको हिस्सा हो भन्ने बहस जारी छ।
यद्यपि समर्थकहरूले मन पराऊन् वा नपराऊन्, विश्वकपभरि हाइड्रेसन ब्रेक जारी रहने निश्चित छ। अहिलेको अवस्थामा यो विश्वकपको सबैभन्दा चर्चित र विवादास्पद विषयमध्ये एक बनेको छ।