६९ करोडको सम्पत्ति शुद्धीकरण मुद्दामा विकल पौडेल दम्पती तानिए

 संवाददाता    २०८३, १७ बैशाख बिहीबार ११:००     12 जनाले पढ़िसके



Spread the love

राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) सम्बन्धी गम्भीर कसूरमा संलग्न रहेको आरोपमा विकल पौडेल र उनकी श्रीमती एलिना बस्नेत विरुद्ध ६८ करोड ९४ लाख बिगो माग गरी मुद्दा दर्ता गरेको छ।

सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल दम्पतीले अवैध रूपमा विदेशी विनिमय कारोबार गरेर सम्पत्ति शुद्धिकरण गरेको आरोप राजश्व अनुसन्धन विभागले लगाएको छ।

कटुवाचौपारी–४, पर्वत स्थायी ठेगाना भई हाल काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–९मा बस्दै आएका ४३ वर्षीय विकल पौडेल तथा उनकी श्रीमती एलिना बस्नेतले अवैध रूपमा विदेशी विनिमय कारोबार गरेको पुष्टि भएको विभागको दाबी छ।

यस सम्बन्धमा उनीहरूमाथि कुल ६२ करोड ६५ लाख ९१ हजार ८९३ रुपैयाँ बिगो कायम गरी विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ अनुसार मिति २०८१ असोज १४ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो।

तर, उक्त प्रकरणमा थप अनुसन्धान गर्दा अवैध रूपमा आर्जित सम्पत्तिसम्बन्धी गतिविधि पुष्टि भएको र उनीहरुलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ३ अन्तर्गत मुद्दा दर्ता गरिएको विभागले बताएको छ।

विभागले विकल पौडेलमाथि ६१ करोड १३ लाख २१ हजार १५३ रुपैयाँ २० पैसा र एलिना बस्नेतमाथि ७ करोड ८१ लाख ४४ हजार ५१ रुपैयाँ ५० पैसा बिगो कायम गरिएको छ।

दुवैको संयुक्त बिगो रकम ६८ करोड ९४ लाख ६५ हजार २०४ रुपैयाँ ७० पैसा पुगेको छ।

विभागले सोही ऐनको दफा ३० अनुसार बिगोको दोब्बर जरिवाना तथा कसूरको मात्रा अनुसार कैद सजाय माग गरेको छ। साथै, दफा ३४ बमोजिम अवैध रूपमा आर्जित सम्पत्ति जफत गर्नुपर्ने मागदाबी पनि गरिएको छ।

विभागको अनुसन्धान प्रतिवेदन तथा रायका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमार्फत् मिति २०८३ वैशाख १६ गते काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर गरिएको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।