बोलेरोमा करेन्ट लागेर आगलागी हुँदा ४ जनाको मृत्यु

 संवाददाता    २०८२, ८ बैशाख सोमबार ०८:४७     119 जनाले पढ़िसके



Spread the love

पाथीभरा दर्शनका लागि जाँदै गरेको एक बोलेरोमा करेन्ट लागेर आगलागी हुँदा ४ जनाको मृत्यु भएको छ । फुङलिङ नगरपालिका-१० स्थित सडक खण्डमा यो दुर्घटना भएको हो ।

प्रहरीका अनुसार बिजुलीको तार झरेर मे १ ज ३०११ गाडीमा आगो लागेको थियो । घटनामा दुई जना घाइते रहेका छन् । उनीहरुलाई हेलिकप्टरबाट काठमाडौँ ल्याउने तयारी गरिएको कोशी प्रदेश प्रहरी कार्यालयका एसएसपी भीम दाहालले बताए ।

एसएसपी दाहालका अनुसार ललितपुरको ललितपुर महानगरपालिका-१० बस्ने ४५ वर्षीया सबिना आचार्यको अवस्था गम्भीर रहेको छ भने उनका छोरा १० वर्षीय भविमय आचार्यको अवस्था मध्यम रहेको छ ।

मृत्यु हुनेमा आचार्यकी छोरी १६ वर्षीया आध्या आचार्य, झापा भद्रपुर नगरपालिका-१५ बस्ने ७० वर्षीय विनोद पौडेल, पौडेलकी श्रीमती ६९ वर्षीया सरिता पौडेल र गाडीका चालक ताप्लेजुङ फुङलिङ नगरपालिका-१० बस्ने ४२ वर्षीय दुर्गा भट्टराई रहेका छन् । कसरी गाडीमा बिजुलीको तार खस्यो भन्ने कुराको अनुसन्धान भइरहेको एसएसपी दाहालको भनाई छ ।

आज बिहान करिब ५ः०० बजे विद्युत्को पोलबाट चुँडिएको तार सडकमा झरेको र उक्त तारमा गाडी अल्झिँदा अचानक आगो लागेको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतले बताए ।

सूचना अधिकारी बस्नेतका अनुसार आगलागीको जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक रवि रावलको कमाण्डमा १५ जनाको टोली तत्काल घटनास्थलमा पुगेको थियो ।