अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सञ्चार गृहमा प्रहरी प्रवेश गरी पत्रकारलाई गिरफ्तार गरेको तथा नियन्त्रणमा लिने प्रयास गरेको घटनाप्रति आपत्ति जनाएको छ ।
इन्सेकले आइतबार विज्ञप्ति जारी गर्दै काठमाडौंका विभिन्न सञ्चार गृहबाट पत्रकार गिरफ्तार गरिएको र केही सञ्चार गृहमा धरपकडको प्रयास भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
प्रहरीले शुक्रबार नेपाल प्रेसको कार्यालयबाट पत्रकार विश्वमणि सुवेदी, मोटिभेट न्युजबाट शोभराज बराल र डीएनए खबरका प्रधान सम्पादक धिरज बस्नेतलाई गिरफ्तार गरेको थियो । त्यस्तै, सादा पोशाकका प्रहरीले नयाँपत्रिका कार्यालयमा प्रवेश गरी पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिने प्रयास गरेको थियाे ।
प्रकाशित समाचार वा त्यसको विषयवस्तुप्रति असहमति हुन सक्ने भए पनि पत्रकार तथा सञ्चार गृहमा धरपकड गर्ने र त्रसित पार्ने कार्य लोकतान्त्रिक व्यवस्थामा स्वीकार्य नहुने इन्सेकको भनाइ छ ।
यस्ता गतिविधि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मर्म र लोकतान्त्रिक शासन व्यवस्थाको आधारभूत मान्यताविपरीत रहेको उल्लेख गर्दै इन्सेकले स्वतन्त्र प्रेसले सरकार तथा सार्वजनिक निकायका कामकारबाहीमाथि निगरानी गर्ने, नागरिकलाई सुसूचित गर्ने र राज्यलाई जवाफदेही बनाउने महत्वपूर्ण भूमिका निर्वाह गर्ने जनाएको छ ।
घटनाबारे सरकार, सरकारसम्बद्ध राजनीतिक दल र प्रहरीले अनभिज्ञता जनाउनुलाई इन्सेकले रहस्यमय विषयका रूपमा लिएको छ । घटना हुनु र त्यसप्रति सम्बन्धित निकायले अनभिज्ञता जनाउनुले थप आशङ्का उत्पन्न गरेको इन्सेकका अध्यक्ष विजयराज गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
इन्सेकले घटनाको सत्यतथ्य सार्वजनिक गर्न, पत्रकारमाथि भएको धरपकडबारे स्पष्ट जानकारी दिन र आगामी दिनमा यस्ता घटना नदोहोरिने सुनिश्चितता गर्न सरकारसँग माग गरेको छ । इन्सेकले मानव अधिकार, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यताको सम्मान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।