धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटारस्थित पृथ्वी राजमार्ग सोमबार (भोलि) तीन घण्टा बन्द हुने भएको छ।
आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको काम गर्नुपर्ने भएपछि उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा रोक्न लागिएको हो।
जिल्ला प्रशासन कार्यालय धादिङले आइतबार सूचना जारी गर्दै भोलि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मझिमटार क्षेत्रमा सबै प्रकारका सवारी साधनको आवागमन बन्द रहने जनाएको छ।
नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड), मुग्लिङ, चितवनको सूचनाका आधारमा सडक बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय, धादिङका प्रशासकीय अधिकृत सन्देश मास्केले जानकारी दिए।
निर्माण कार्यलाई सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गर्न निर्धारित समयका लागि सवारी आवागमन रोक्न लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
पृथ्वी राजमार्ग हुँदै काठमाडौं, चितवन, पोखरा तथा देशका विभिन्न गन्तव्यमा आवतजावत गर्ने सवारी साधन प्रभावित हुने भएकाले यात्रुले समय व्यवस्थापन गर्न अनुरोध गरिएको हो।
प्रशासकीय अधिकृत मास्केका अनसार उक्त अवधिमा वैकल्पिक मार्ग प्रयोग गरी सवारी सञ्चालन गर्न तथा अनावश्यक रूपमा बन्द हुने सडकखण्डमा नजान आग्रह गरिएको छ। दिउँसो २ बजेपछि भने सडकमा सवारी आवागमन खुल्ने सूचनामा उल्लेख छ।
