सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने अमेरिकी घोषणा

 संवाददाता    २०८२, ७ बैशाख आईतवार ११:५५     193 जनाले पढ़िसके



Spread the love

अमेरिकाले आउँदो महिनाभित्र सिरियाबाट आफ्ना एक हजार सैनिक फिर्ता गर्ने घोषणा गरेको छ । इस्लामिक स्टेट (आईएस) विरुद्धको अन्तर्राष्ट्रिय अभियानअन्तर्गत अमेरिकाले केही वर्षदेखि सिरियामा सैनिक तैनाथ गर्दै आएको छ ।

अमेरिकी रक्षा सचिवको निर्देशनअनुसार अब ती सैनिकलाई फिर्ता ल्याउने तथा सुरक्षा संरचना सुदृढ गर्ने प्रक्रिया शुरु गरेको पेन्टागनका प्रवक्ता सीन पार्नेललाई उद्धृत गर्दै एएफपीले जनाएको छ । पार्नेलका अनुसार यो निर्णयसँगै अमेरिकाको सिरियामा रहेको सैन्य उपस्थिति क्रमशः घटाइनेछ ।

यद्यपि, अमेरिकाले आईएसविरुद्धको आक्रमण जारी राख्ने र शान्ति स्थापनाका लागि आवश्यक कदम चाल्ने प्रतिवद्धता कायमै रहेको पनि प्रवक्ता पार्नेलले बताउनुभयो । आईएसले सन् २०१४ मा आक्रामक गतिविधि शुरु गरेपछि अमेरिकी नेतृत्वमा स्थानीय सेनाहरूलाई सहयोग पुर्‍याउँदै आतङ्कवादी समूहविरुद्ध अभियान थालिएको थियो ।

अभियानका क्रममा अमेरिकी सेनाले प्रत्यक्ष रूपमा लडाइँमा सहभागिता जनाएका थिए भने हजारौं सैनिक तथा कर्मचारीहरूलाई सहयोगका लागि खटाइएको थियो । इराकी प्रधानमन्त्रीले सन् २०१७ को डिसेम्बरमा आईएसमाथि विजयको घोषणा गर्नुभएको थियो । तर पनि अहिले केही ग्रामीण क्षेत्रमा आईएसका लडाकु सक्रिय रहेका कारण अमेरिकी सेनाले समय–समयमा आवश्यक कारबाही जारी राखिरहेको छ ।