इटहरीको सेन्ट्रल प्लाजामा आगलागी हुँदा १० तले भवनमा फसेका ३ जनाको नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरेको छ।इटहरीको मुख्य चोकमा रहेको सेन्ट्रल प्लाजामा लागेको आगो नियन्त्रणमा आउन नसकेपछि त्यहाँ अड्किएका ३ जनाको उद्दारकालागि काठमाडाैँबाट नेपाली सेनाको हेलिकोप्टर मगाइएको हो। नेपाली सेनाको हेलिकोप्टरबाट उनीहरूको उद्धार गरिएकाे काेसी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीले जानकारी दिए। नेपाली सेनाको हेलिकोप्टरबाट उनीहरूको उद्धार गरी इटहरीस्थित नेपाली सेनाको ब्यारेकमा अवतरण गराएको थियो।
प्रदेश सरकारको आग्रहमा गृह मन्त्रालयले उद्धारको लागि हेलिकोप्टर पठाएको हो। अहिलेसम्म छतमा ३ जना अड्किएकाे खुलेकाे छ। अरू ८ जनाको भने डोरीको सहायताबाट उद्धार भएको प्रहरीले जनाएको छ। छतमा अरु काेही नरहेकाे दाबी प्रहरीले गरेकाे छ।
१० तले सेन्टर प्लाजामा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। प्लाजाको अग्र भागमा होटल भएको हुँदा एकातर्फबाट मात्र पानीको फोहोरा हान्ने काम भइरहेको छ।