बडायक दम्पती हत्याको आरोपित पक्राउ

 संवाददाता    २०८१, २१ मंसिर शुक्रबार १५:३६     59 जनाले पढ़िसके



Spread the love

मङ्सिर २१ गते । बडायक दम्पती हत्याको आरोपमा कञ्चनपुर प्रहरीले लालझाडी गाउँपालिका –२ का ५० वर्षीय गङ्गाराम राना थारुलाई पक्राउ गरेको छ ।

घटनाको करिब डेढ महिनापछि प्रहरीले अभियुक्तलाई पक्राउ गर्न सफल भएको हो । १० दिन म्याद थप गरेर थप अनुसन्धानको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले जानकारी दिनुभयो ।

गत कात्तिक ८ गते राति लालझाडी गाउँपालिका –१ का ४५ वर्षीय रमेश बडायक र उहाँकी ४१ वर्षीया श्रीमती कमलाको हत्या गरिएको थियो । घटनाको डेढ महिनासम्म प्रहरीले अभियुक्त पक्राउ गर्न सकेको थिएन । केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) समेतको सहयोगमा हिजो अभियुक्तलाई पक्राउ गरिएको हो ।

प्रारम्भिक बयानको क्रममा अभियुक्त रानाले आफूले दुवै जनाको हत्या गरेको बताएको प्रहरी नायब उपरीक्षक जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार रक्सी नदिएको निहुँमा रानाले बडायक दम्पतीको हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।

बडायक दम्पती घरनजिक मदिरा पसल सञ्चालन गर्दैआएका थिए । राति करिब ११–१२ बजेतिर रक्सी माग्न गएका रानालाई बडायकले रक्सी नदिएपछि दुवैबिच विवाद भएको र रानाले काठको चिर्पटले हिर्काएको प्रहरीले जनाएको छ । सुरुमा रमेशको त्यसपछि उहाँकी श्रीमतीको हत्या गरेको अभियुक्तले प्रहरीसमक्ष बयान दिएका छन् ।