संसदीय सुनवाइ समितिले मलेसियाका लागि प्रस्तावित राजदूत चूडामणि खरेलको सुनुवाइ स्थगन गरेको छ।
उनका विषयमा आज (बुधबार) संसदीय सुनुवाइ समितिमा सुनुवाइ गर्ने तालिका थियो।
तर म्यानपावर व्यवसायीसँग सम्बन्ध, पोखराको जग्गा खरिदमा अनियमिततालगायतमा उनको संलग्नता रहेको विषयमा समिति सदस्यहरूले कुरा उठाएपछि समितिका सभापति बोधनारायण श्रेष्ठले आजका लागि सुनुवाइ रोकेका हुन्।
समिति सदस्यहरू यसबारेमा आन्तरिक छलफलमा छन्।
बुधबार भक्तुपुर क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद राजीव खत्रीले राजदूत नियुक्तिको प्रस्ताव, स्वार्थको द्वन्द्व, आर्थिक लेनदेन, स्थानीय तहसँग अनुदान मिलाइदिने भन्दै रकम लिएको विषय उठाएका थिए।
त्यस विषयमा प्रस्ट पार्न सभापति श्रेष्ठले प्रस्तावित राजदूत खरेललाई जवाफ दिन समय दिए।
यद्यपि प्रस्तावित राजदूत खरेलले उनले बाहिर आएका आरोपमा आफ्नो कुनै पनि संलग्नता नरहेको दाबी गरेका छन्।
तर, रास्वपाकै अर्का सांसद मधुकुमार चौलागाईंले प्रस्तावित राजदूत खरेलबारे थप अध्ययन गर्न पर्ने र आवश्यक परे उपसमिति बनाउनुपर्ने धारणा राखे।
त्यसपछि समिति सभापति श्रेष्ठले प्राप्त उजुरी अध्ययन गर्न समय चाहिने भएकाले सुनुवाइको प्रक्रिया तत्काललाई रोक्ने निर्णय सुनाएका हुन्।