पेट्रोलमा १०% इथानोल मिसाउने मापदण्डको मस्यौदा तयार

 संवाददाता    २०८१, १६ भाद्र आईतवार १०:५८     91 जनाले पढ़िसके



Spread the love

पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रण गरेर बिक्री गर्ने मापदण्डको मस्यौदा तयार गरिएको छ । आयल निगमले ‘पेट्रोलमा इथानोल मिश्रणसम्बन्धी विनियमावली, ०८१’ को मस्यौदा तयार गरी स्वीकृतिका लागि सञ्चालक समितिसमक्ष पेस गरेको हो । सञ्चालक समिति बैठकमा अहिले यो विषयमा छलफलसमेत सुरु भइसकेको छ ।

पेट्रोलियम पदार्थको प्रयोगबाट वातावरणमा पर्न गएको प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्न पेट्रोलमा इथानोल मिसाउने प्रक्रिया अघि बढाइएको निगमको भनाइ छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले २९ मंसिर ०६० मा पेट्रोलमा इथानोल मिश्रण गर्न सकिने व्यवस्था राजपत्रमा नै प्रकाशित गरेको थियो । २० वर्षयता पटक–पटक यस विषयमा छलफल भए पनि अहिले कार्यविधि बनाएर लागू गर्न लागिएको हो ।

निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले पेट्रोलियम पदार्थको खपत न्यूनीकरणका लागि इथानोलको प्रयोग जरुरी भएको बताए । ‘वर्षौँदेखि इथानोल प्रयोग गर्ने विषय छलफलमै सीमित भएको रहेछ, यसपटक भने कार्यविधि नै बनाएर अघि बढेका छौँ,’ उनले भने, ‘सरकारले तोकेको मूल्य र गुणस्तरको हुनुपर्ने मापदण्डअनुसारको इथानोल पेट्रोलमा मिश्रण गर्ने गरी कार्यविधिको मस्यौदा प्रस्ताव गरिएको छ ।’

हाल मुलुकभर दैनिक औसत २० लाख लिटर पेट्रोल खपत भइरहेको छ । जसकारण दैनिक दुई लाख लिटर इथानोल मिश्रणको आवश्यकता पर्छ । तर, सुरुवातमा यति ठुलो मात्रामा इथानोल पाउने सम्भावना न्यून रहेको कार्यकारी निर्देशक भट्टले बताए । ‘चिनी उद्योगहरूले इथानोल खरिदको सुनिश्चितता हुन्छ भने तोकिएको मापदण्डअनुसार उत्पादन गर्छौँ भनेका छन्, तर दैनिक ५० हजार लिटर मात्रै उपलब्ध हुने देखिन्छ,’ उनले भने ।

इथानोलको प्रयोगले पेट्रोलको गुणस्तरमा ह्रास नआउने र सवारीसाधनको इन्जिनमा पनि कुनै क्षति नपुग्ने अध्ययनबाट देखिएको उनको भनाइ छ । आयल निगमले पेट्रोलियम पदार्थ खरिद गर्दै आएको इन्डियन आयल कर्पोरेसन (आइओसी)ले भने लामो समयदेखि पेट्रोलमा इथानोल मिश्रण गर्दै आएको छ ।

इथानोलको प्रयोगले मूल्यसमेत कम गर्न मद्दत मिल्ने निगम अधिकारीहरूको भनाइ छ । हाल पेट्रोल एक सय ६५ रुपैयाँ प्रतिलिटर रहेको छ भने इथानोल प्रतिलिटर एक सय ३० रुपैयाँआसपासमा खरिद मूल्य हुने निगमका एक अधिकारीले बताए । ‘सस्ता वस्तु मिसाउँदा मूल्य घटाउन कहीँ न कहीँ दबाब हुन्छ,’ ती अधिकारीले भने ।

‘ई–९९’ इथानोल प्रयोग गर्न खोजिँदै
आयल निगमले उच्च गुणस्तरको मानिने ‘ई–९९’ इथानोलको प्रयोगलाई प्राथमिकता दिएको छ । न्यापियर, घाँस, सिमलतरुल, बाज्रा सञ्जीवन, उखु र चिनी कारखानाबाट निस्कने खुदो, सुइरो घाँस, मकैको ढोड, धानको पराल वा भुस, गहुँको छुवाली र कनिकाबाट उत्पादित इथानोललाई प्रमुख प्राथमिकता दिइने कार्यविधिमा उल्लेख छ ।

चिनी उद्योगीहरूले यो गुणस्तरको इथानोल उत्पादनका लागि वर्षौँदेखि चासो दिइरहेका छन् । तर, उनीहरूले वार्षिक खपत परिमाण र खरिदको सुनिश्चितता खोजेका छन् । ‘चिनी उद्योगबाट निस्कने खुदोलाई प्रशोधन गरी इथानोलको प्लान्ट लगाउन तयार छन् । उनीहरूले खरिदको सुनिश्चितता खोजेका छन्,’ कार्यकारी निर्देशक भट्टले भने । चिनी उद्योगीले दुई वर्षमा उद्योग लगाउने र तेस्रो वर्षबाट उत्पादन दिन थाल्ने योजना निगमलाई सुनाएका छन् ।

त्यस्तै, गैरआवासीय नेपालीको एउटा समूहले पनि इथानोल प्लान्ट लगाउने विषयमा निगमसँग बैठक गरिसकेको छ । सो समूहले पहिले खरिद सम्झौता गर्नुपर्ने र त्यसपछि मात्रै उद्योग खोल्ने अव्यावहारिक प्रस्ताव गरेको छ । निगमले भने गुणस्तर र मूल्यमा प्रतिस्पर्धा गर्न सक्ने कम्पनीसँग मात्रै खरिद सम्झौता गर्ने गरी कार्यविधिको मस्यौदा तयार गरेको छ ।