काठमाडौं । बि.स. २०३८ साल बैशाख-०२ गते बुबा मुरारी प्रसाद र आमा शोभादेबी गजुरेलका पहिलो सन्तानका रुपमा जन्मिएका आशिष गजुरेल ।
बाल्यकालदेखि नै जिज्ञासु र सामाजिक चेतनायुक्त स्वभावका आशिषले समाजका मुद्दाप्रति चासो राख्ने बानी विकास गरे । बाल्यकालको अध्ययन सिन्धुली र काठमाडौंमा पूरा गरेका आशिष बाँकी अध्ययन गर्न जर्मनी गए उनले जर्मनीको Technical University of Munich बाट “Transportation System” मा स्नातकोत्तर गरे उनलाई त्यहाँ अवसर नभएर होइन मनले नेपाल फर्कायो र उनी २०६६ मा नेपाल फर्किए ।
त्यसपछि उनले नेपालमा यातायात र पूर्वाधार क्षेत्रमै काम गर्दै लगानी बोर्डमा करिब ११ वर्ष परामर्शदाताका रूपमा सेवा गरे । पछि उनी नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशक भए । यही पदलाई धेरैले “बन्दरगाहको महानिर्देशक” भनेर चिन्ने गर्छन्, किनकि यही समितिले चोभार, वीरगञ्ज, भैरहवा, विराटनगर लगायत देशभरका सुख्खा बन्दरगाह र मालवस्तु ढुवानी प्रणाली हेर्छ । गजुरेलको नेतृत्वमा चोभार सुख्खा बन्दरगाह सञ्चालनमा ल्याउने, वीरगञ्ज र अन्य भन्सार नाकालाई आधुनिक बनाउने तथा लजिस्टिक्स प्रणाली सुधार गर्ने काम भएको थियो । त्यति मात्र नभएर दोधारा चाँदनीको बन्दर्गाह अगाडी बढाउन उनले निक्कै मेहनत गरे।
करिब डेढ दशक राज्यलाई सेवा गरेका गजुरेल अझ केही गर्ने हुटहुटी सहित राजनितीमा होमिए, राजनीतिक दृष्टिकोणले आशिष गजुरेल एक नयाँ अनुहार हुन्, जसको यसअघि कुनै पनि दलमा प्रत्यक्ष सांगठनिक संलग्नता थिएन । राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत सिन्धुली–२ बाट उम्मेदवारी दिँदै उनले आफ्नो औपचारिक राजनीतिक यात्राको थालनी गरे, परम्परागत राजनीतिको अनुभव नभए पनि उनले आफ्नो व्यावसायिक विज्ञतालाई राजनीतिको आधार बनाउँदै विकासमुखी एजेन्डाहरू अघि सारे । उनको चुनावी अभियान सस्तो,सुलभ र सुरक्षित सार्वजनिक यातायात, स्थानीय रोजगारी, कृषि बजारीकरण र शिक्षा–स्वास्थ्यको सुधार जस्ता मुद्दाहरूमा केन्द्रित रहेको थियो ।
अन्ततः जनताको अपार माया मतमा परिणत भयो उनी अत्याधिक मतले विजयी भए । उनलाई अहिले संसदमा भौतिक पूर्वाधार, यातायात विकाससम्बन्धी विषयमा प्राविधिक ज्ञान भएको सांसदका रूपमा हेरिन्छ । यही कारणले उनलाई भौतिक पूर्वाधारसँग सम्बन्धित समितिको नेतृत्वसम्म पुगेको नयाँ पुस्ताको “टेक्नोक्र्याट राजनीतिज्ञ” मानिन्छ । उनी साइकल चढेर संसद गएको कारणले पनि चर्चामा आएका थिए, जसलाई उनले सार्वजनिक यातायात र दिगो सहरको सन्देशका रूपमा चिनाउन चाहान्थे । अन्ततः उनलाई रास्वपाले प्रतिनिधिसभा अन्तर्गत पूर्वाधार विकास समितिको सभापतिका रूपमा जिम्मेवारी दियो ।
यस भूमिकामा रहँदै उनले नीतिगत बहस, योजना कार्यान्वयन र अनुगमनमा सक्रिय भूमिका निर्वाह गर्नु पर्ने छ । अब उनको डेढ दशकको अनुभबलाई काम र कानूनमा परिणाममुखी बनाउनु पर्ने जिम्मेवारी थपिएको छ ।
विशेषगरी सुख्खा बन्दरगाह निर्माणमा उनको अग्रसरता उल्लेखनीय मानिन्छ, जसले क्षेत्रीय व्यापार र आर्थिक गतिविधिमा नयाँ सम्भावनाको ढोका खोल्ने अपेक्षा गरिएको छ ।
सिन्धुली मात्र नभई समग्र राष्ट्रको पूर्वाधार विकासलाई दीर्घकालीन रूपमा अगाडि बढाउने लक्ष्यसहित गजुरेलले काम गरिरहेका छन् । उनी स्थानीय आवश्यकता र राष्ट्रिय प्राथमिकताबीच सन्तुलन कायम गर्दै योजनाहरू अघि बढाउने नेताका रूपमा चिनिनु पर्नेछ ।
साधारण परिवेशबाट सुरु भएको उनको यात्रा आज राष्ट्रिय नेतृत्वसम्म पुगेको छ। यो केवल एक व्यक्तिको सफलताको कथा होइन, अवसर, अध्ययन, इमानदार प्रतिबद्धता र देशप्रतिको समर्पणले कसरी परिवर्तन सम्भव हुन्छ भन्ने प्रेरणादायी उदाहरण पनि हो ।
अब आशिष गजुरेलमाथि रहेको सबैभन्दा ठूलो जिम्मेवारी भनेको आफ्नो डेढ दशकको अनुभवलाई नीति, योजना र कानुनमार्फत ठोस परिणाममा रूपान्तरण गर्नु हो, अझ भनौं उनको यो कार्यकालमा दिगो भरपर्दो सार्वजनिक यातायातको नितिले पूर्णता पाउने जनविश्वास उनको कांधमा आइपरेको छ। उनले भन्ने गरेको धनीले निजी गाडी हैन सार्वजनिक यातयात चढेर आफ्नो दैनिकी सुरु गर्नु नै मुख्य कुरा हो र मुख्य सफलता हुनेछ। आशा गरौं उनको यो योजनाले मुर्तरुप हामीले उनको कार्यकालमा यो काठमांडौमा देख्न पाउने छौं। उनले उठाएका पूर्वाधार विकासका एजेन्डा जनताको जीवनमा प्रत्यक्ष रूपमा अनुभूत हुन सकोस।