गाजामा सहायता पुर्‍याउन गएका २२ डुंगा अवरुद्ध, इजरायलको कदमप्रति ११ देश असन्तुष्ट

 संवाददाता    २०८३, १८ बैशाख शुक्रबार १०:५५     10 जनाले पढ़िसके



Spread the love

प्यालेस्टिनी-समर्थक अभियन्ताहरूले सहायता सामग्री बोकेर गाजा जाँदै गरेका फ्लोटिलाका २२ डुंगालाई इजरायली सेनाले ग्रिक टापु क्रेटनजिकै अन्तर्राष्ट्रिय जल क्षेत्रमा रोकेको बताएका छन्।

यस क्रममा १७५ जनालाई नियन्त्रणमा लिइएको इजरायली विदेश मन्त्रालयले जनाएको छ।

ग्लोबल सुमुद फ्लोटिला (जीएसएफ) को तथ्यांकअनुसार फ्लोटिलामा रहेका बाँकी ३६ वटा डुंगामध्ये धेरैजसो हाल क्रेटको दक्षिणी तटनजिकै छन्।

स्पेन, फ्रान्स र इटालीका कुल ५८ जहाज फ्लोटिलामा सामेल भएका थिए। यसको उद्देश्य गाजामा इजरायलको नाकाबन्दी तोड्नु थियो।

यसैबिच पाकिस्तानसहित ११ देशका विदेशमन्त्रीले गाजामा सहायता सामग्री बोकेको ग्लोबल सुमुद फ्लोटिलाका २२ वटा डुंगालाई इजरायली सेनाले अवरोध गरेमामा निन्दा गरेका छन्।

पाकिस्तान, बंगलादेश, ब्राजिल, कोलम्बिया, जोर्डन, लिबिया, मलेसिया, माल्दिभ्स, दक्षिण अफ्रिका, स्पेन र टर्कीका विदेशमन्त्रीले संयुक्त विज्ञप्ति जारी गरी इजरायलको कदमलाई ‘आक्रमण’ भनेका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘यो गाजामा मानवीय संकटप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गर्ने उद्देश्यले गरिएको शान्तिपूर्ण मानवीय पहल थियो।’

उल्लिखित ११ देशले अगाडि भनेका छन्, ‘इजरायलले डुंगामा गरेको हमला र अन्तर्राष्ट्रिय जल क्षेत्रमा अभियन्ताहरूलाई अवैध थुनामा राख्नु अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन हो।’