आयल निगमका कर्मचारीबिच कुटाकुट हुँदा एकजनाको मृत्यु

 संवाददाता    २०८१, १४ भाद्र शुक्रबार १३:३४     115 जनाले पढ़िसके



Spread the love

नेपाल आयल निगम लिमिटेडको धनुषा (महेन्द्रनगर)स्थित शाखा कार्यालयमा कार्यरत दुई कर्मचारीबिच कुटाकुट हुँदा एकजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता डिएसपी रञ्जन आबाका अनुसार मृत्यु हुनेमा सिराहा नगरपालिका– ३ का राकेशकुमार बर्मा रहेका छन् । उनको बेल्चा प्रहारबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुटाकुटमा संलग्न अर्का कर्मचारी धनुषाधाम– ३ का प्रकाश यादवलाई प्रहरीले निगम कार्यालयबाटै पक्राउ गरेको छ ।
दुवै कर्मचारी करारमा कार्यरत रहेको निगमले जनाएको छ । शुक्रबार बिहान १०:३० बजे दुवैबिच सामान्य विवाद भएपछि कुटाकुटमा उत्रिएर घटना घटेको प्रहरीको प्रारम्भिक विश्लेषण छ । मृत्यु हुने बर्मा चार वर्षदेखि करारमा कार्यरत थिए।

निगम कर्मचारीहरूले घटना घट्नुमा महेन्द्रनगरस्थित शाखा कार्यालय प्रमुख मनोजकुमारको कमजोरीसमेत रहेको औँल्याएका छन् । गत १९ जेठमा उनी कार्यालय प्रमुख भएर पुगेयता कर्मचारीका समस्या समाधानका लागि समन्वय नगर्ने, पेट्रोल पम्प व्यवसायी र ट्यांकरधनीलाईसमेत अनावश्यक दुःख दिन थालेकोलगायतका गुनासो बढ्न थालेको छ ।

कार्यालय प्रमुख बस्ने एकतले क्वार्टर सँगै रहेको र नेपाल आर्मीसमेत डिपो जोडिएकै जग्गामा रहँदा पनि कर्मचारीबिच कुटपिट भई मृत्युसम्म हुँदा दुवै निकायले थाहा नपाउनु चरम लापरबाही भएको एक कर्मचारीले बताए । ‘डिपो छिर्ने गेटमा आर्मी बसेको छ, कार्यालय प्रमुखको क्वार्टर पनि सँगै जोडिएको भवनमा छ । तैपनि यति ठूलो घटना हुनु खेदजनक छ,’ ती कर्मचारीले भने ।