‘बुद्धचित्त’ चाेरीका आराेपित राकेशद्वारा प्रहरीसमक्ष आत्मसमर्पण

 संवाददाता    २०८१, ७ भाद्र शुक्रबार ०८:४२     74 जनाले पढ़िसके



Spread the love

सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका – १ का होमबहादुर सुनुवारको घरमा रहेको बुद्धचित लुट्ने काभ्रे तेमालका काेरियन भनिने राकेश लामाले सिन्धुली प्रहरीमा आत्मसमर्पण गरेका छन् ।

होमबहादुर सुनुवारको बुद्धचितको रुख फिक्कल गाउँपालिका खेलकुद विकास समितिका अध्यक्षसमेत रहेका शिव बरालमार्फत काभ्रे तेमालका पुष्पलाल दोङ, राकेश तामाङ र दूतराज तामाङले वार्षिक ५ लाख रुपैंयाँमा ३ वर्षका लागि १५ लाखमा करार सम्झौता गरेका थिए । साे रुख उनीहरूले काठमाडौँ महाबाैद्धका माला व्यापारी आर्यन खतिवडालाई ६५ लाखमा बिक्री करार गरेका थिए । तर, बुद्धचित्तको दाना टिप्ने समयमा आर्यन खतिवडालाई बिक्री गरिसकेको माला गत साउन १ गते राकेश र दूतराज तामाङ आफैंले लुटेका थिए ।

आर्यन खतिवडाले आफूले खरिद गरेको बुद्धचित्त लुटिएको भनेर मिडियामा आएपछि मात्रै घटना बाहिर आएको थियो । मिडियामा उनले प्रहरीको नै संलग्नतामा माला लुटिएको र प्रहरीले किटानी जाहेरी र उजुरीसमेत लिन अस्वीकार गरेको बताएका थिए । फिक्कलबाट लुटिएको ५० केजी बुद्धचितको माला ८० लाखमा बिक्री गरिएको बताइएकाे छ।

चौतर्फी आलोचना भएपछि, जिल्ला प्रहरी कार्यालय सिन्धुलीले साउन १६ गते मात्रै उक्त घटनाको किटानी जाहेरी दर्ता गरेको थियो । जाहेरी दर्ता भएसँगै सिन्धुली प्रहरीले ३ जनालाई अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरेको थियो ।

पक्राउ पुर्जी जारी भएपछि काभ्रे तेमालका राकेश तामाङ भदौ २ गते सिन्धुली प्रहरीसमक्ष हाजिरी भएका थिए । तामाङको बुधबार जिल्ला अदालत सिन्धुलीबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएकाे छ ।

प्रहरीका अनुसार , पक्राउ पुर्जी जारी भएका ३ जना मध्ये राकेश आफैं प्रहरी कार्यालयमा हाजिर भएको र अन्य २ जना अझै फरार छन् । प्रारम्भिक अनुसन्धान हेर्दा अरू थुप्रै संलग्न पक्षहरू तानिने देखिएकाे प्रहरी बताउँछ।