नेपालगञ्ज – कोहलपुर नगरपालिका वडा- १४, ओढारपुरका कृष्ण गडरिया र उनकी श्रीमती अञ्जली गडरियालाई भारतीय सुटर नभई नेपालगञ्जकै दुई युवाले हत्या गरेको खुलेको छ।
दाजु विजय र भाउजु रेखाको योजनामा नेपालगञ्ज उपमहानगरपालिका- १९ का राजन सोनकर र नेपालगञ्ज उपमहानगरपालिका- १८ का सकिल अली शेषले कृष्ण र अञ्जलीको हत्या गरेको खुलेको हो।
हत्या आरोपी राजन र सकिल गएराति हतियारसहित पक्राउ परेका छन्। कटुवा पेस्तोल र चार राउण्ड गोलीसहित राजन र सकिल पक्राउ परेको बाँके प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए।
विजय र रेखाले ५० हजार रुपैयाँ दिएर राजन र सकिलमार्फत् भाइ कृष्ण र बुहारी अञ्जलीको हत्या गराएको स्वीकारेका छन्।
विजय र रेखाले सुरुमा भारतीय सुटरलाई एक लाख रुपैयाँ दिएर सुपारी दिए पनि उनीहरूले धोका दिएपछि नेपालगञ्जकै राजन र सकिलमार्फत हत्या गराएको बताएका छन्।
घरमा सुतिरहेका कृष्ण र अञ्जलीलाई राजन र सकिलले एक गोली पड्काएर तर्साई उनीहरूकाे घाँटी थिचेर हत्या गरेका थिए।
राजन र सकिलले हत्या गरेर निस्केपछि विजय र रेखाले भाइ कृष्णको नाडी काट्नुका साथै बुहारी अञ्जलीको घाँटीमा डोरी राखिदिएका थिए।
प्रहरीले अझै केही कुरा बाँझिएकाले अनुसन्धान भइरहेको बताएको छ। दाइ र भाइको मनमुटाव र सम्पत्ति पनि हत्यामा जोडिएको छ।